२०८२ चैत १ आइतवार , १२:४७:३३ बजे

Sajhamanch
'

समानुपातिकतर्फ बन्दसूचीअनुसार नाम पठाउन दलहरूलाई आयोगले दिएको समयसीमा आज सकिँदै

आइतवार, चैत १, २०८२

काठमाडौं । समानुपातिकतर्फ ‘क्लस्टर’ मिलाएर बन्दसूचीअनुसार नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आज सकिँदैछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम छान्न विभिन्न दल गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाएका प्रत्यक्षतर्फ पहिलो बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट पाएको छ ।

एमालेले हिजो नै १६ जना समानुपातिक सांसदको टुङ्गो लगाउँदै नाम सार्वजनिक गरेको छ । अरू बाँकी पाँच दलले आज अन्तिम निर्णय गरी निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ ।

दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी बन्दसूचीमा नाम समावेश भएको क्रमअनुसार आयोगमा सूची बुझाउनुपर्ने हुन्छ । दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

रास्वपाले आज बिहान १० बजे सचिवालय बैठक बोलाएको छ । कांग्रेसको पनि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । नेकपा, श्रम संस्कृति र राप्रपा पनि नाम टुङ्गो लगाउने अन्तिम कसरतमा जुटेका छन् ।