२०८२ फागुन २८ बिहिवार , ०४:३१:४५ बजे

Sajhamanch
'

इजरायलद्वारा लेबननमा नयाँ आक्रमण शुरू : तेल बोकेका जहाजमाथिका आक्रमण पनि बढ्दै

बिहिवार, फागुन २८, २०८२

झापा । इजरायली सेनाले लेबननमा रहेको हिजबुल्लाहका लक्ष्यहरूमा नयाँ चरणका आक्रमण शुरू गरेसँगै खाडी क्षेत्रमा पानीजहाजमाथिका आक्रमण पनि बढ्दै गएका छन् ।

बासरा बन्दरगाह नजिकै पर्सिअन गल्फमा दुई विदेशी तेल ट्याङ्करमा विस्फोट हुँदा एक जनाको ज्यान गउको इराकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो घटनामा केहीको उद्धार गरिएको खोजी कार्य चलिरहेको छ ।

यसैबीच इराकका प्रधानमन्त्री मोहम्मद शिआ अल–सुदानीले इरानी राष्ट्रपति मसूद पेजेश्किआनलाई इराकमाथिको आक्रमण अस्वीकार्य भएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले आफ्नो सरकारले कुनै पनि पक्ष वा व्यक्तिलाई इरानमाथि आक्रमणका लागि आफ्नो क्षेत्र प्रयोग गर्न नदिने पनि बताउनुभएको छ ।

बुधवार स्ट्रेट अफ हर्मुजमा तीन वटा व्यावसायिक जहाजमाथि आक्रमण भएका थिए । त्यो आक्रमण कसले गरेको भन्ने खुलेको छैन । आक्रमणपछि क्षतिग्रस्त भएकामध्ये एउटा भारत आउँदै गरेको पनि रहेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ । मध्यपूर्वमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा पनि असर गहिरिन थालेको छ ।

आज एशियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य ९ प्रतिशतले बढेर प्रतिब्यारेल १०० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने कच्चा तेलको मूल्य पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अमेरिका र बेलायतलगायत दर्जनौँ देशले कीर्तिमानी मात्रामा आपत्कालीन भण्डारबाट तेल निकाल्ने घोषणा गरेपछि पनि तेलको मूल्य घट्न सकेको छैन ।

सम्बन्धित खबर