
झापा । मध्यपूर्व क्षेत्रमा चलिरहेको युद्धका बीच इरानले क्षेत्रीय तेल उद्योग र ऊर्जा पूर्वाधारमाथि दबाब बढाउँदा विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन थालेको छ । इरानले तेल उद्योगसँग सम्बन्धित संरचनाहरूलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ ।
इरानले यस्तो रणनीति अपनाएर विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्दै इजरायल र अमेरिकामाथि आफ्नो सैन्य कारबाही रोक्न दबाब दिन खोजेको हुन सक्ने विश्लेषकहरूले बताएका छन् । इरानले पर्सियन खाडीबाट हिन्द महासागरतर्फ जाने प्रमुख समुद्री मार्ग हर्मुज घाँटीमा जहाज आवागमनमा अवरोध गरिरहेको छ ।
विश्वको झन्डै २० प्रतिशत तेल यही समुद्री मार्गबाट ढुवानी हुने भएकाले यस क्षेत्रमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पर्छ । आज बिहान ओमानको तट नजिकै हर्मुज घाँटीमा एउटा कन्टेनर जहाजमा प्रहार हुँदा जहाजमा आगलागी भएको थियो ।
आगो नियन्त्रण बाहिर गएपछि जहाजका कर्मचारीहरूलाई जहाज छाडेर सुरक्षित ठाउँमा जान बाध्य भएका छन् । साउदी अरबले आफ्नो सायबह तेल क्षेत्रमा लक्षित पाँचवटा ड्रोनलाई बाटोमै रोकेको जानकारी दिएको छ । यी घटनाले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमाथि खतरा बढेको सङ्केत गरेको छ ।
यस परिस्थितिबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आज बस्दैछ । बैठकमा खाडी सहयोग परिषद्ले प्रस्तुत गरेको प्रस्तावमाथि मतदान हुने बताइएको छ । प्रस्तावमा इरानले खाडीका देशलाई लक्षित गर्दै भइरहेको आक्रमण रोक्नुपर्ने माग छ ।
मध्यपूर्वको तनावका कारण विश्व ऊर्जा बजार अस्थिर बनेको छ । विश्लेषकहरूका अनुसार यदि हर्मुजमार्गको अवरोध लामो समयसम्म रहेमा विश्वव्यापी ऊर्जा आपूर्ति, ढुवानी र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्छ ।


