
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १४ महिला निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ निर्वाचित हुनेमा १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का र एक जना नेपाली कांग्रेसकी उम्मेदवार छन् ।
प्रत्यक्षतर्फ रास्वपाबाट झापा–१ मा इन्दिरा रानामगर, चितवन–३ मा सोविता गौतम, मोरङ–६ मा रुविना आचार्य, झापा–१ मा निशा डाँगी, सर्लाही–१ मा नितिमा भण्डारी, ललितपुर–३ मा डा. तोसिमा कार्की, धादिङ–१ मा आसिका तामाङ, सप्तरी–१ मा पुष्पाकुमारी चौधरी, कास्की–३ मा बिना गुरुङ, मोरङ–५ मा आशा झा, महोत्तरी–४ मा गौरी कुमारी, कैलाली–१ मा कोमल ज्ञवाली, काठमाडौँ–१ मा रञ्जु न्यौपाने छन् ।
कांग्रेसबाट उम्मेदवार बनेर दैलेख–१ मा बासना थापाले प्रत्यक्षतर्फ निर्वाचन जितेकी छन् ।
काठमाडौँ–१ मा न्यौपाने १५ हजार ४ सय ५५ मतसहित विजयी भइन् । न्यौपानेले कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्रीलाई फराकिलो मतान्तरले हराएकी थिइन् ।
गौतम चितवन–३ बाट ५९ हजार २ सय ७७ मत ल्याएर भरतपुर महानगरपालिकाकी पूर्व मेयर एवं नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई ठूलो मतान्तरले हराइन् । उनी २०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौँ–२ बाट निर्वाचित भएकी थिइन् ।
ललितपुर–३ बाट डा.तोसिमा कार्की ४३ हजार ९६ मतसहित कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले हराएर विजयी भइन् । उनी २०७९मा पनि त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
मोरङ–६ बाट रुबिना आचार्य ५५ हजार ५ सय १३ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले १२ हजार ८ सय ५० मत मात्रै ल्याउन सके ।
कास्की–३ बाट बिना गुरुङले कांग्रेस उम्मेदवार मनोज गुरुङलाई पराजित गरिन् ।
कैलाली–१ बाट कोमल ज्ञवाली १७ हजार ८६२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् ।
मोरङ–५ बाट आशा झा ३० हजार ४ सय ३४ मत ल्याएर निर्वाचित भइन् । सर्लाही–१ मा नितिमा भण्डारी कार्की ४४ हजार १८१ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत पाए ।
झापा–१ बाट निशा डाँगी ४५ हजार ६८० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कांग्रेस उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत पाए । डाँगी २०७९ को निर्वाचनमा रास्वपाबाट समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् ।
झापा–२ बाट इन्दिरा मगर ६० हजार ११० मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी पूर्वसभामुख देवराज घिमिरेले ११ हजार ३३८ मत मात्रै ल्याए । मगर २०७९ मा समानुपातिकतर्फबाट रास्वपाकी प्रतिनिधिसभा सदस्य थिइन् । उनी उपसभामुख भएर जिम्मेवारी सम्हालेकी थिइन् ।
धादिङ–१ बाट आशिका तामाङ ३९ हजार १२८ मत प्राप्त गर्दै निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत पाए ।
सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी ३८ हजार १९५ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वीस्वाभिमान पार्टीका सुमितकुमारले ७ हजार ८४७ मत पाए ।
महोत्तरी–४ मा गौरी कुमारी ३० हजार १३२ मतसहित विजयी हुँदा प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवले ८ हजार ७४२ मत पाए ।
रास्वपाले प्रतिनिधिसभा १६ महिलालाई उम्मेदवार बनाएकोमा १३ जनाले जितेका हुन् । रास्वपाबाट जुम्लामा उम्मेदवार बनेकी बिनिता कठायतसुनसरी–१ बाट उम्मेदवार बनेकी गोमा तामाङ र हुम्लामा उम्मेदवार बनेकी टासी ल्हान्जोम पराजित भए ।
कांग्रेसबाट दैलेख–१ मा उम्मेदवार बनेकी बासना थापा १२ हजार ३७२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए ।


