२०८२ फागुन २७ बुधवार , ०१:५७:३१ बजे

Sajhamanch
'

बारुदी सुरुङ बिछ्याउने १६ वटा इरानी जहाज ध्वस्त पारेको अमेरिकाको दाबी

बुधवार, फागुन २७, २०८२

झापा । अमेरिकाले आफ्नो सेनाले हर्मुज मार्ग नजिकै बारुदी सुरुङ बिछ्याइरहेको १६ वटा इरानी जहाजलाई ध्वस्त पारेको दाबी गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले जहाजहरूमाथि आक्रमण भएको भिडियो पनि सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

अमेरिका–इजरायल र इरानबीच चलिरहेको युद्धका कारण हर्मुज समुद्री मार्गबाट जहाजहरूको आवागमन नराम्ररी प्रभावित भएको बेला यो घटना भएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेनाले हर्मुज मार्गमा राखिएका १० वटा इरानी जहाजमाथि आक्रमण गरेको बताउनुभएको थियो ।

हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । हरेक दिन झन्डै २ करोड ब्यारेल तेल यही क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीको बीचमा रहेको छ ।

सीबीएस न्युजका अनुसार अमेरिकी गुप्तचर एजेन्सीहरूले इरानले हर्मुज मार्गमा पानीमुनि विस्फोटक पदार्थ बिछ्याउने तयारी गरिरहेको आशङ्का गरेका थिए ।

यसैबीच इजरायलले इरान र लेबनानमा नयाँ आक्रमण शुरू गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले इरानको तेहरानमा रहेका लक्ष्यहरूमा थप आक्रमण शुरू गरेको बताएको छ । यस्तै इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणमा रहेको इरान–समर्थित लडाकु समूह हिजबुल्लाहको पूर्वाधारलाई लक्षित गरिरहेको बताएको छ ।

सम्बन्धित खबर