
झापा । युरोप विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता बनेको थिङ्क ट्याङ्कले देखाएको छ । रुसको धम्की र अमेरिकी सुरक्षा प्रतिबद्धताहरूमा विश्वास घट्दै जाँदा सरकारहरूले प्रतिक्रिया जनाएका कारण युरोप विगत पाँच वर्षमा विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता बनेको स्टकहोम इन्टरनेशनल पिस रिचर्स इन्स्टिच्युट (एसआईपीआरई) को तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
रुसी आक्रमणबाट बच्न र दशकौँको लगानीको कमीपछि आफ्नै सेना पुनर्निर्माण गर्न युरोपेली देशहरूले युक्रेनलाई आपूर्ति गर्न सन् २०२१ देखि २०२५ मा २०१६ देखि २०२० को तुलनामा तेब्बरले हतियार आयात गरेका छन् ।
युरोपेली राज्यहरूमा हतियार प्रवाहमा तीव्र वृद्धिले विश्वव्यापी हतियार स्थानान्तरण झन्डै १० प्रतिशतले बढेको एसआईपीआरआईको हतियार स्थानान्तरण कार्यक्रमका निर्देशक म्याथ्यू जर्जले भन्नुभयो ।
विश्वव्यापी हतियार आयातको ३३ प्रतिशत हिस्सा युरोपले ओगटेको प्रतिवेदनले देखाएको छ जुन अघिल्लो पाँच वर्षको अवधिमा १२ प्रतिशत थियो । घरेलु उत्पादन बढाए पनि युरोपेली देशहरूले अमेरिकी हतियारहरू – विशेषगरी लडाकु विमान र लामो दूरीको हवाई–रक्षा प्रणालीहरूको खरिदलाई निरन्तरता दिएका छन् ।
यस्तै मध्यपूर्वी देशहरूबाट हतियार आयात १३ प्रतिशतले घटेको छ, यद्यपि साउदी अरेबिया र कतार शीर्ष खरिदारहरूमध्ये रहेका छन् ।
यसैबीच आपूर्तिकर्ताको सन्दर्भमा अमेरिकाले हतियार निर्यात बजारमा आफ्नो विश्वव्यापी हिस्सा ३६ प्रतिशतबाट बढाएर ४२ प्रतिशत पुर्याएको छ । यस्तै फ्रान्स विश्वव्यापी निर्यातको ९ दशमलव ८ प्रतिशतसहित दोस्रो ठूलो आपूर्तिकर्ता बन्दा सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि रुसको हिस्सा २१ प्रतिशतबाट घटेर ६ दशमलव ८ प्रतिशतमा झरेको छ ।


