२०८२ फागुन २६ मङ्गलवार , १२:४२:२६ बजे

Sajhamanch
'

४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

सोमवार, फागुन २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम करिबकरिब आइसकेको छ । प्राप्त मतपरिणामलाई हेर्दा यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छन् ।

प्रत्यक्ष निर्वाचन जितेका ४० वर्षमुनिकै ५४ जना सांसद यसपटक संसदमा देखिने भएका हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट केही अरु थपिन सक्छन् ।

प्रत्यक्ष निर्वाचित ४० मुनिका तीन सांसद नेपाली कांग्रेस, दुई नेकपा एमाले, एक राप्रपा र एक श्रम संस्कृति पार्टीबाट रहेका छन् । त्यसबाहेक सबै युवा सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनिएका छन् ।

देशभरबाट जनलहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीकै उम्मेदवारका रुपमा उभ्याएका ३६ वर्षीय बालेन शाह (बालेन) भारी मतले विजयी भए । त्यो पनि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराएर उनले नयाँ रेकर्ड नै कायम गरे । ६८,३४८ मतले बालेन विजयी हुँदा ओली १८,७३४ मतमै सिमित भए ।

त्यस्तै, रास्वपाबाटै ३० वर्षीया सोविता गौतम चितवन–३ बाट विजयी भइन् । उनले ५९,८१४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल २०,६१५ ल्याएर पराजित बनिन् ।

सुनसरी–२ बाट ३९ वर्षीय लालविक्रम थापा विजयी हुँदा नेपालीका कांग्रेसका राजीव कोइराला पाराजित बने । रुपन्देही–२ बाट रास्वपाकै २८ वर्षीय सुलभ खरेल विजयी हुँदा नेकपा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल करिब ४३ हजार मतान्तरले पराजित भए ।

मोरङ–६ मा पनि रुविना आचार्यले पनि नेपाली कांग्रेसका प्रभावशाली मानिएका नेता शेखर कोइरालालाई करिब ४२ हजार मतान्तरले हराइन् । रास्वपाकी आचार्य जम्मा ३१ वर्षकी भइन् ।

बालेन शाहनिकट मानिएका ३५ वर्षीय सुनिल लम्सालले पनि रुपन्देही–१ बाट नेपाली कांग्रेसका हिराबहादुुर खत्रीलाई पराजित गरेर संसदको यात्रा तय गरे । त्यस्तै, रास्वपाकै ३३ वर्षीय बदनकुमार भण्डारीले नेपाली कांग्रेसका मधुप्रसाद आचार्यलाई काभ्रे–२ मा पराजित गरे ।

नवलपुर–१ बाट विजयी भएका राजन गौतम पनि ३९ वर्षका भए । उनले नेपाली कांग्रेसका नेता बालकृष्ण घिमिरेलाई पराजित गरेका छन् ।

यसअघि नै रास्वपाबाट समानुपातिक सांसद बनेकी २९ वर्षीया निशा डाँगीले नेपाली कांग्रेसका नेता केशवराज पाण्डेलाई झापा–१ मा पराजित गरि दोस्रोपटक संसद प्रवेश गर्ने भएकी छन् ।

दाङ–३ बाट रास्वपाकै कमल सुवेदी निर्वाचित भएका छन् । ३८ वर्षीय उनले नेपाली कांग्रसका नेता दीपक गिरीलाई हराए । दाङ–२ बाटै रास्वपा उम्मेदवार ३९ वर्षीय विपिनकुमार आचार्यले एमाले महासचिव शंकर पोखरेललाई हराएका छन् ।

ललितपुर–३ बाट ३६ वर्षीया तोसीमा कार्की दोस्रोपटक विजयी भइन् । सर्लाही–२ बाट रास्वपाकै ३८ वर्षीय रविन महतोले जितेका छन् ।

भक्तपुर–२ बाट एमाले सचिव महेश बस्नेतलाई हराएका रास्वपा उम्मेदवार राजीव खत्री पनि जम्मा ३९ वर्षका छन् । त्यस्तै, रास्वपाकै कान्छोमध्येका एक उम्मेदवार २६ वर्षीय मनीष खनालले नेकपा एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई नवलपुर–२ मा पराजित गरे ।

रास्वपाका उम्मेदवार तथा पूर्वखेलकुदमन्त्री २८ वर्षीय बब्लु गुप्ता पनि सिराहा–१ मा विजयी भए । उनले नेपाली कांग्रेसका रामसुन्दर चौधरीलाई हराए ।

बारा–४ मा रास्वपाबाट ३९ वर्षीय रहबर अन्सारी विजयी भए । उनले नेपाली कांग्रेसका कृष्णकुमार श्रेष्ठलाई पराजित गरे । त्यस्तै, मोरङ–४ बाट ३४ वर्षीय सन्तोष राजवंशी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई पराजित गर्दै विजयी भए ।

जेनजी आन्दोलनका अगुवासमेत रहेका ३० वर्षीय शिवशंकर यादवले पनि नेपाली कांग्रेसका रामचन्द्र यादवलाई हराउँदै सिराहा–२ मा जित हासिल गरे । अभियान्ताको छवि बनाएकी आसिका तामाङमा रास्वपाबाट सांसद बन्ने भएकी छन् । ३७ वर्षीया उनले धादिङ–१ मा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई उछिनेकी हुन् ।

रुपन्देही–५ बाट नेकपा एमालेका खिमलाल भट्टराईलाई हराउँदै ३८ वर्षीय तौफिकअहमद खान रास्वपाबाट विजयी भए ।

झापा क्षेत्र नम्बर ३ मा राप्रपाकै अध्यक्ष रहेका राजेन्द्रप्रसाद लिङ्देनलाई हराउँदै हराउँदै रास्वपाका ३७ वर्षीय प्रकाश पाठक विजयी भए । सप्तरी–१ मा पनि रास्वपाकी ३६ वर्षकी पुष्पाकुमारी चौधरीले विजय प्राप्त गरिन् ।

सिराह–४ मा तपेश्वर यादवले नेपाली कम्युनिस्ट पार्टीका अजयशंकर नायकलाई उछिने । यादव जम्मा ३३ वर्षका भए ।

मकवानपुर–१ बाट रास्वपाका ३७ वर्षीय प्रकाश गौतमले नेपाी कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ लाई हराउँदै संसदको यात्रा तय गरे । अर्घाखाँची–१ मा पनि रास्वपाका ३७ वर्षीय हरिप्रसाद भुसालले जित हात पारेका छन् ।

रास्वपा सभापति रवि लामिछानेनिकट मानिने ३८ वर्षीय दिपकराज बोहराले पनि कंचरपुर–२ बाट जित हात पारेका छन् । उनले नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई पराजित गरेका हुन् ।

महोत्तरी–२ बाट रास्वपा उम्मेदवार ३४ वर्षीय दीपककुमार साह निर्वाचित भए, जसले जनता समाजवादी पार्टी, नेपालका शतरसिंह भण्डारीलाई भारी मतान्तरले उछिने । त्यस्तै, महोत्तरी–३ मा पनि रास्वपाका ३३ वर्षीय उज्ज्वलकुमार झा निर्वाचित भएका छन् ।

दोलखा क्षेत्र नम्बर १ मा पनि रास्वपाका ३६ वर्षीय ई. जगदीश खरेलले नेकपा एमाले नेता तथा पूर्वमन्त्री पार्वत गुरुङलाई उछिनेर सांसद बने । ३६ वर्षीय रास्वपा उम्मेदवार सुशीलकुमार कानुले पनि पर्सा–२ मा नेपाली कांग्रेसका नेता अजयकुमार चौरसियालाई उछिनेका छन् ।

हेभिवेट नेताबीच प्रतिस्पर्धा मानिएको काठमाडौं–५ मा पनि २९ वर्षीय सस्मित पोखरलले जित हात पारे । रास्वपा उम्मेदवार उनले नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल र राप्रपाका कमल थापालाई उछिने ।

मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेतीले नेकपा एमालेका नेता महेशकुमार बर्तौलालाई पराजित गरे । रास्वपाका उप्रेती सम्भवत: यसपटक विजयी हुनेमध्ये सबैभन्दा कान्छ सांसद हुन् ।

३४ वर्षीय रास्वपा उम्मेदवार सागर ढकालले पनि गुल्मी–१ मा एमाले नेता प्रदीपकुमार ज्ञवालीलाई जितेर सांसद बने । बाँके–३ मा पनि ३५ वर्षीय रास्वपा उम्मेदवार खगेन्द्र सुनार विजयी भए ।

काठमाडौं–४ बाट निर्वाचित रास्वपा सांसद पुकार बम पनि ३८ वर्षका छन् । सप्तरी–२ मा ३० वर्षीय रामजी यादव विजयी भएका छन् । त्यस्तै, रुपन्देही–४ मा पनि रास्वपाका ३६ वर्षीय कन्हैया बनियाँले जितेका छन् ।

प्युठान–१ मा पनि नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेललाई पराजित गर्दै रास्वपाका ३१ वर्षीय सुशान्त वैदिक विजयी भए । स्याङ्जा–२ मा पनि रास्वपाका ३३ वर्षीय झविलाल डुम्रे विजयी भए ।

रास्वपाका ३९ वर्षीय सुशील खड्काले बाग्लुङ–१ बाट जित हात पारे । कैलाली–३ मा पनि रास्वपाकै ३९ वर्षीय जगतप्रसाद जोशी विजयी भए । कैलाली–२ मा पनि कान्छा मध्येका एक उम्मेदवार मानिएका रास्वपाका केपी खनालले जित हात पारे ।

सिन्धुली क्षेत्र नम्बर १ मा पनि रास्वपाका ३८ वर्षीय धनेन्द्र कार्कीले जित हात पारे । उनले नेकपा एमालेका प्रदीपकुमार कटुवाललाई उछिनेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा पनि ३० वर्षीया रञ्जु दर्शनाले नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीलाई उछिनेर जित हात पारिन् । त्यस्तै, बागलुङ–२ मा पनि रास्वपाका ३४ वर्षीय सोम शर्माले जित हात पारे ।

यसरी रास्वपाबाट धेरै सांसद युवा देखिँदा गोरखा–१ मा भइरहेको मतगणनामा पनि सुधन गुरुङले अग्रता लिइरहेका छन् । प्राप्त परिणामको रुझानलाई हेर्दा सो क्षेत्रमा पनि ३८ वर्षीय गुरुङ संसद प्रवेश गर्ने लगभग निश्चित देखिन्छ ।

त्यस्तै, नेपाली कांग्रेसबाट पनि तीन जना ४० वर्षमुनिका सांसद विजयी भएका छन् । जस्तो – रौतहट–२ मा ३९ वर्षीय मो. फिरदोश आलम विजयी भएका छन् ।

पाल्पा–१ मा पनि नेपाली कांग्रेसका ३८ वर्षीय सन्दीप राना विजयी भएका छन् । नेपाली कांग्रेसभित्रै कान्छा सांसद रहेका ३२ वर्षीय योगेश गौचन थकाली पनि मुस्ताङ–१ बाट विजयी बने ।

नेकपा एमालेबाट पनि दुई जना सांसद ४० वर्ष मुनिका छन् । हालसम्म दश जनाले प्रतिनिधिसभा जित्दा इलाम–२ बाट ३६ वर्षीय सुहाङ नेम्वाङ र ३८ वर्षीय क्षितिज थेबे ताप्लेजुङ–१ बाट विजयी भएका हुन् ।

त्यस्तै, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट पनि २९ वर्षीय आरेन राई खोटाङ–१ बाट विजयी भएका छन् ।

जम्मा एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि ३४ वर्षीय ज्ञानबहादुर शाही जुम्ला क्षेत्र नम्बर १ बाट सांसद बनेका छन् । यसरी यसपटक तुलानात्मक रुपमा धेरै युवा सांसद प्रवेश गरेको प्राप्त मतपरिणामबाट देखिन्छ

सम्बन्धित खबर