
विराटनगर । आफ्नो पाँच वर्षे कार्यकाल बिचमै छाडेर संघीय सांसद बन्न तम्सिएका कोशी प्रदेशका १ जना प्रदेश सांसद र पालिका प्रमुखहरूमध्ये हर्कराज राईबाहेक अरू प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका छन् ।
सुनसरी–१ मा भने हर्कराज राई विजयी बनेका छन् । उनी धरान उपमहानगरपालिकाका प्रमुख थिए । त्यहाँबाट राजीनामा दिएर उनी संघीय संसद लडेका थिए ।
फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाममा उनी ३५ हजार ७४१ मत ल्याएर विजयी बनेका हुन् । उनको निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत ल्याएकी छिन् । तेस्रो स्थानमा नेकपा एमालेका टिकाराम लिम्बू भएका छन् । लिम्बूले ६ हजार ४६३ मत ल्याएका छन् । वडाध्यक्षबाट राजीनामा दिएर नेकपाबाट उम्मेदवारी दिएका सूर्यबहादुर भट्टराईले भने ६ हजार १८५ मत मात्रै ल्याए ।
कोशी प्रदेश सांसद पद छोडेर झापा ४ बाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्ति प्रसाद सिटौलाले लज्जास्पद पराजय व्यहोरे । उनले जमानत जोगाउन सकेनन् । सिटौलाले २ हजार ८० मत ल्याएर पाँचौं बन्दा विजेता रास्वपाका शम्भुप्रसाद ढकालले ४३ हजार ६३१ मत ल्याए ।
यस्तै पालिका छोडेर सांसद बन्न तम्सिएका मोरङ रंगेलीका प्रमुख दिलिपकुमार अग्रवाल, इलाम सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, सोलुखुम्बु थुलुङ दूधकोशीका अध्यक्ष असिम राई, उदयपुर लिम्चिङबुङका अध्यक्ष मेजर राई र ओखलढुङ्का लिखु पिके गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि पराजित बने । यस्तै धरान १७ नम्बरको वडाध्यक्ष पद छोडेर संघीय संसद बन्न तम्सिएका सूर्यबहादुर भट्टराई (मनोज) पनि पराजित बने ।
रंगेलीका प्रमुख अग्रवाल मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार बनेका थिए । अग्रवालले १५ हजार ६२४ मत ल्याएर दोस्रो भए । विजयी रास्वपाका उम्मेदवार कृष्णकुमार कार्कीले भने ४० हजार ९२४ मत ल्याए ।
यस्तै इलामको क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार बनेका रणबहादुर राई पाँचौं स्थानमा छन् । त्यहाँ एमालेका उम्मेदवार काजीमान कागतेले अग्रता लिएका छन् । दोस्रो नम्बरमा श्रम संस्कृति पार्टी छ । अन्तिम परिणाम आउँदासम्म रणबहादुर राईले जित निकाल्न सक्ने अवस्था देखिँदैन ।
यस्तै सोलुखुम्बुबाट नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार बनेका असिम राई दोस्रो स्थान बनाउन सफल भए । त्यहाँ काँग्रेसका प्रकाश सिंह कार्की १३ हजार १६६ मत ल्याएर विजयी हुँदा राईले ९ हजार ४१४ मत मात्रै ल्याउन सके ।
यस्तै पालिका छोडेर स्वतन्त्र उम्मेदवार बनेका उदयपुर २ का मेजर राईले जमानत जोगाउन सकेनन् । उनले ११ औं स्थान कायम गर्दै जम्मा मत भने ९० ल्याए । त्यहाँबाट रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार २ मत ल्याएर विजयी बने ।
यस्तै एमालेबाट ओखलढुंगाको उम्मेदवार बनेकी अस्मिता थापाले चौथो स्थान हासिल गरे पनि जित निकाल्न सकिनन् । सो क्षेत्रमा रास्वपाका विश्वराज पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी बने । उता, धरान १७ का वडाध्यक्ष भट्टराईलाई सुनसरी १ बाट नेकपाले उम्मेदवार बनाएको थियो । भट्टराईले ६ हजार १८५ मत मात्रै ल्याउँदै तेस्रो स्थान कायम गरे ।


