२०८२ फागुन २४ आइतवार , ०२:३७:३६ बजे

Sajhamanch
'

५ वटा पार्टी मात्रै राष्ट्रिय दल बन्ने बाटोमा, श्रम संस्कृति थ्रेसहोल्ड नजिक

आइतवार, फागुन २४, २०८२

काठमाडौं । समानुपातिक प्रणालीमा देशभरि करिब २५ प्रतिशत मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपका (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका हुन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकमा तीन सिट कटाउनुपर्छ ।

रास्वपा, कांग्रेस, एमाले अहिलेकै अवस्थामा राष्ट्रिय दल बनिसकेका छन् । अब गणना हुने ठाँउमा कुनै मत नपाएपछि उनीहरू राष्ट्रिय दल बन्नेछन् । किनभने उनीहरूले कुल खसकेको मतकै अनुपातमा तीन प्रतिशत कटाइसकेका छन् ।

नेकपाले अहिले करिब साढे ६ प्रतिशत मत पाइसकेको छ । तर अन्यत्र उसले कति मत पाउछ ? त्यसका आधारमा बाँकी अवस्था तय हुनेछ ।

करिब एक करोड १० लाख मत खसेको अनुमान गर्दा थ्रेसहोल्ड कटाउन ३ लाख भन्दा बढी मत पाउनुपर्ने देखिन्छ, नेकपाले अहिले एक लाख ६६ हजार मतमात्रै पाएको छ ।

राप्रपाले अहिले करिब साढे ३ प्रतिशत मत अर्थात ९१ हजार मतमात्रै पाएको छ । उसले राष्ट्रिय दलको मान्यता पाउन अहिलेको अनुपातलाई कायम राखेर बाँकी रहेका ठाँउमा मत ल्याउनुपर्छ । यी दलहरूले राष्ट्रिय दलको मान्यता पाउन चाहिने प्रत्यक्षतर्फको एक सिट जितिसकेका छन् ।

राष्ट्रिय दलको मान्यता पाउन थ्रेसहोल्डको सीमा नजिक रहेको दल हो, श्रम संस्कृति पार्टी नेपाल । सुनसरी–१ बाट प्रतिस्पर्धा गरिरहेका अध्यक्ष हर्क साङ्पाङले अग्रता लिइरहेका छन् र मतगणना सकिने क्रममा छ ।

तर समानुपातिकका लागि भने उसलाई अहिलेको भन्दा बढी अनुपातको मत चाहिन्छ, किनभने अहिलेको आंकडा हेर्दा श्रम संस्कृति पार्टीले दुई प्रतिशत मतमात्रै पाएको छ ।