
झापा । अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयोतोल्लाह अलि खामेनी मारिएपछि पाकिस्तानमा भएको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गएको छ । झन्डै ६० जना घाइते भएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार कराँचीमा १०, स्कार्दुमा कम्तीमा ८ र राजधानी इस्लामाबादमा २ जनाको ज्यान गएको अल जजिराले जनाएको छ । प्रदर्शन मुख्यगरी पाकिस्तानको शिया मुस्लिम समुदायको अगुवाइमा भएको छ ।
राजधानी इस्लामाबादको ‘रेड जोन’ क्षेत्रमा हजारौँ प्रदर्शनकारी भेला भएका थिए । भीडलाई तितरबितर पार्न सुरक्षाकर्मीहरूले अश्रुग्यास र रबरका गोली प्रयोग गरेका थिए । घाइतेहरूलाई सरकारी अस्पतालहरूमा उपचार भइरहेको खबरमा उल्लेख छ ।
पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले सामाजिक सञ्जालमार्फत खामेनीको निधनप्रति दुःख व्यक्त गर्दै अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले शान्तिपूर्ण विरोध गर्न नागरिकलाई आग्रह गर्नुभएको छ ।


