२०८२ फागुन १८ सोमवार , ०२:०७:१६ बजे

Sajhamanch
'

इरानविरुद्धको आक्रमणमा अमेरिकालाई आफ्नो भूमि प्रयोग गर्न बेलायतको अनुमति

सोमवार, फागुन १८, २०८२

झापा । बेलायती प्रधानमन्त्री कियर स्टारर्मले अमेरिकालाई इरानको क्षेप्यास्त्र भण्डारण स्थल र प्रक्षेपण केन्द्रमा आफ्नो सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको घोषणा गर्नुभएको छ ।

तर प्रधानमन्त्री स्टार्मरले बेलायत इरानमाथि प्रारम्भिक आक्रमणमा संलग्न नरहेको र कुनै आक्रामक कारबाहीमा सहभागी नहुने बताउनुभयो ।

यो कदम सहयोगी राष्ट्रहरूको सुरक्षा र बेलायती नागरिकको जीवन जोगाउने उद्देश्यले गरिएको उहाँको भनाइ छ । स्टार्मरले मध्यपूर्वमा झन्डै २ लाख बेलायती नागरिक रहेको जानकारी दिँदै उनीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै कदम चालिने समेत बताउनुभएको बीबीसीले जनाएको छ ।

अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको व्यापक र निरन्तर हमलाको प्रत्युत्तरस्वरूप इरानले मध्यपूर्वभरि आक्रमण शुरु गरेपछि दुबई र अबुधाबीका विमानस्थलमा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

मध्यपूर्व सङ्कट अझै तनावग्रस्त रहँदा इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आज बिहान इजरायलमा धेरै रकेट तथा मिसाइल प्रहार गरेको छ जसलाई हिजबुल्लाहले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या र इजरायली आक्रमणको जवाफ भएको दाबी गरेको छ ।

इजरायलले हिजबुल्लाहको यस कदमलाई गम्भीर चुनौतीको रूपमा लिएको र त्यसको प्रतिकार स्वरूप बेरुतका नियंत्रित क्षेत्रहरूमा आक्रमण बढाएको जनाएको छ । यो सङ्घर्ष हालैको क्षेत्रीय तनावको भागको रूपमा विस्तार भएको हो ।

अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि इरान, हिजबुल्लाह र अन्य समूहहरूले आक्रमण र प्रतिआक्रमण जारी राखेका छन् । मध्यपूर्वको यो बढ़्दो सङ्कटले अन्तराष्ट्रिय समुदायमा चिन्ता बढाएको छ ।

सम्बन्धित खबर