२०८२ फागुन १७ आइतवार , ०५:०१:०७ बजे

Sajhamanch
'

सर्वोच्च नेता मारिएपछि इतिहासकै खतरनाक आक्रमण शुरू गर्ने इरानको चेतावनी

आइतवार, फागुन १७, २०८२

झापा । इरानको इस्लामिक रिभोलुशनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी सैन्य अड्डा र इजरायलमा आक्रमण गर्ने चेतावनी दिएको छ । आईआरजीसीले इरानी सशस्त्र सेनाको इतिहासकै सबैभन्दा खतरनाक आक्रमण शुरू हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

इरानको सरकारी टेलिभिजनले इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका पुष्टि गरेपछि यो चेतावनी आएको हो ।

आक्रमणमा खामेनीका छोरी, ज्वाइँ तथा नातिनातिना र एक बुहारी पनि मारिएका इरानी सञ्चारमाध्मयले जनाएका छन् । खामेनी मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा भएको छ ।

खामेनीको मृत्युपछि अब राष्ट्रपतिसहित तीन जनाले त्यहाँको सत्ता सञ्चालन गर्ने भएका छन् । राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्जियन काउन्सिलका एक सदस्यले अहिलेको सङ्क्रमण्लाई सम्हाल्ने खबरमा उल्लेख छ ।

यसैबीच इजरायलले इरानमाथि आक्रमणको अर्को लहर शुरू गरेको बताएको छ । यसले मध्यपूर्वलाई अस्थिर बनाउने खतरा बढाएको छ । इजरायली सेनाले आज बिहान इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र हवाई रक्षा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको बताएको छ ।

अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा इरानले मध्यपूर्वभरि प्रत्याक्रमण गरेको छ । इरानले अमेरिकी सैन्य अड्डा भएका ठाउँहरू यूएई, कतारको दोहा, बहराइन र कुवेतमा आक्रमण गरेको बीबीसीको खबरमा उल्लेख छ । आक्रमणमा परेर इरानमा दुई सय जनाभन्दा धेरै मारिएका रेड क्रिसेन्टले जनाएको छ ।

मध्यपूर्वका सबैजस्ता देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । मध्यपूर्व हुँदै उड्ने विभिन्न अन्तर्राष्ट्रिय एअरलाइन्सहरूले पनि उडान रद्द गरेका छन् । धेरैजसो देशहरूले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई सुरक्षित बस्न भनेका छन् ।

मध्यपूर्वमा तनाव बढेसँगै संयमित हुन र वार्ताबाट समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरेका छन् ।

सम्बन्धित खबर