२०८२ फागुन १७ आइतवार , १२:२२:४५ बजे

Sajhamanch
'

मतदानका लागि काठमाडौं उपत्यकाबाट ८ लाख नागरिक बाहिरिँदै

शनिवार, फागुन १६, २०८२

काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचनका बेला ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ।

एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरूले काठमाडौँ छोड्ने तयारी गरेका छन्। सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ। यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ।

फागुन २३ गते शनिवार र २४ गते अर्थात ८ मार्चका दिन अन्ताराष्ट्रिय महिला दिवसको बिदा छ। यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुने भएपछि दशैँ तिहारमा जस्तै योपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन्।

यातायात व्यवसायीहरूका अनुसार अहिलेबाटै उपत्यका छाड्नेहरू बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६–७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताए। १९ गतेसम्मका लागि लामो दूरीका गाडीमा भीडभाड रहेको उनको भनाइ छ।

सिटौलाका अनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ। धेरैले गाडी रिजर्व गर्न थालेका छन्।

सिटौलाले भने‚ ‘चुनावका कारण धेरै यात्रु उपत्यकाबाट घर जानेक्रम शुरु भइसकेको छ। करिब ८–९ लाखको हाराहारीमा आ(आफ्नो गृहजिल्लामा जाने क्रम शुरु भइसकेको छ। १९ गतेसम्म लामो दूरीका गाडीमा अत्यन्तै भीडभाड छ। १७, १८,१९ गते थेगिनसक्नु भीड छ।’

लामो दूरी कञ्चनपुर, डडेलधुरादेखि अर्घाखाँची, गुल्मी, पाल्पा जस्ता जिल्लामा १९ गतेपछि गाडी जानसक्ने अवस्था रहने छैन। मध्यम दूरी काभ्रे, धादिङ सिन्धुपाल्चोकसम्मका दूरीमा गाडी चल्नेछन्।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात प्रणालीलाई चुनावका बेला चुस्तदुरुस्त राख्न योजनाबद्ध तवरले विभाग लागिरहेको बताए।

उनले निर्बाध रूपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने बताए।

सम्बन्धित खबर