
झापा । चीनले अर्को हप्ता हुने आफ्नो सबैभन्दा ठूलो वार्षिक राजनीतिक बैठकअघि सेनाका ९ सहित १९ जना अधिकारीलाई सांसदहरूको सूचीबाट हटाएको छ ।
देशको सर्वोच्च विधायिका निकाय ‘राष्ट्रिय जन कांग्रेस’ (एनपीसी) स्थायी समितिले १९ जना अधिकारीलाई हटाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।
उनीहरूलाई हटाउनुको कुनै आधिकारिक कारण सार्वजनिक भएको छैन । राष्ट्रपति सी जिनपिङले सर्वोच्च पदका जनरल तथा निकटतम सैन्य सहयोगीहरूमध्ये एक झाङ युसियालाई पदबाट हटाएपछि यो घटना सार्वजनिक भएको हो ।
सत्तामा आएदेखि राष्ट्रपति सीले भ्रष्टाचार विरोधी अभियानहरूको लहर शुरू गर्नुभएको छ । उहाँले भ्रष्टाचारलाई कम्युनिस्ट पार्टीका लागि ‘सबैभन्दा ठूलो खतरा’ भन्नुभएको छ । यद्यपि केही आलोचकहरूयसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सक्ने उपकरणका रूपमा प्रयोग गरिएको बताउँछन् ।
राज्य सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार हटाइएका अधिकारीहरूमा पिपुल्स लिबरेशन आर्मी ९पीएलए० ग्राउन्ड फोर्सका कमान्डर ली किआओमिङ र पीएलएका पूर्व नौसेना कमान्डर शेन जिनलोङ समावेश छन् ।
आउँदो मार्च ४ देखि ११ सम्म राजधानी बेइजिङमा चल्ने बैठकमा सरकारले आफ्नो पञ्चवर्षीय योजना घोषणा गर्ने खबरमा उल्लेख छ । बैठकमा सरकारले आफ्ना प्रमुख नीतिगत उद्देश्य र वार्षिक आर्थिक लक्ष्यहरूको रूपरेखा प्रस्तुत गर्नेछ ।


