
झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भएको छ।
मुलुकको सार्वभौम संसदलाई ध्वङ्सको माध्यमबाट बललफ्ती विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको उहाँको भनाइ छ ।
शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी कार्यक्रम’मा उहाँले देशमा आइपरेको संकटबाट मुक्ति दिलाउन एमाले चुनावमा गएको समेत बताउनु भयो ।
एमाले चुनावबाट नभाग्ने भएकाले देशैभर त्यसैमा केन्द्रित भएको उल्लेख गर्दै ओलीले आगामी चुनावबाट एमाले नै पहिलो शक्ति बन्ने उल्लेख गर्नुभयो। त्यसपछि एमालेले देशमा आइपरेका समस्याको समाधान निकाल्ने उहाँले बताउनु भयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा हुने कुनै प्रकारका धाँधली एमालेलाई मान्य नहुनेसमेत बताउनु भयो ।
चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको समेत उहाँको भनाइ छ । कार्यक्रममा उहाँले युवाहरूलाई विभिन्न माध्यमबाट छरिने भ्रममा नपर्न र त्यसलाई चिर्ने काममा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा युवा विद्यार्थीहरूले अध्यक्ष ओलीसमक्ष विभिन्न जिज्ञासा राखेका थिए । उनीहरूको जिज्ञासा सम्बोधन गर्दै उहाँले कुनै पनि पार्टीले कस्तो भुमिका निर्वाह गर्छ ? भन्ने कुरा उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने जवाफ दिनुभयो ।
एमालेका कार्यक्रम र सिद्धान्तहरु जनतासम्म लैजान पनि उनले युवा तथा विद्यार्थीहरूलाई अपिल गर्नु भएको छ।


