
झापा । झापामा होली पर्वलाई लक्षित गर्दै सुरक्षा समितिले विशेष सतर्कता अपनाउने भएको छ । निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस वर्ष होलीमा भीडभाड तथा सार्वजनिक कन्सर्ट गर्न रोक लगाइने जनाएको छ ।
निर्वाचन अनुगमन अधिकृत तेजप्रकाश प्रसाईका अनुसार होली पर्वलाई लक्षित गरी छुट्टै सुरक्षा योजना तयार गरिएको छ । उहाँले निर्वाचन आचारसंहिता र समग्र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आम नागरिकलाई घरघरमै मर्यादित रूपमा होली मनाउन अपील गर्नुभएको छ ।
“होलीका नाममा उच्छृङ्खल गतिविधि र भीडभाड हुनसक्ने जोखिमलाई ध्यान दिँदै यस पटक सार्वजनिक कार्यक्रम तथा ठूला जमघट नगर्न अनुरोध गरिएको हो,” प्रसाईले भन्नुभयो ।
सुरक्षा समितिका अनुसार होलीको अवसरमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय परिचालन गरिनेछ । विशेषगरी बजार क्षेत्र तथा मुख्य चोकहरूमा निगरानी बढाइने जनाइएको छ ।
प्रशासनले रंगको पर्व होलीलाई सभ्य, सुरक्षित र मर्यादित ढंगले मनाउन आग्रह गर्दै आपसी सद्भाव र सहिष्णुतालाई कायम राख्न सबैमा अपील गरेको छ ।


