
सिन्धुली । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. १२ मा पर्ने जिर्घा खोला आसपासका पिछडिएका ग्रामीण बस्तीका बासिन्दालाई लक्षित गरी जिर्घा खोलामा पक्की पूल निर्माण भइरहेको छ ।
स्थानीय पूर्वाधार विकास आयोजना हेटौंडाको ४ करोड ३३ लाख ३३ हजार रुपैयाँको लागतमा डबल लेनको पूल निर्माण कार्य सुरु भएको हो । उक्त पूलको निर्माण सम्पन्न पछि सदरमुकाम सिन्धुलीमाडीबाट जिल्लाका तीन गाउँपालिकाहरु समेत छोटो दुरीमा पुग्न सकिने भएको छ ।
विगतमा सो स्थानमा सडक पूलको अभावमा बिरामीहरुलाई अस्पताल पुर्याउन असुविधा हुनुका साथै कृषिजन्य उत्पादनहरु बजारमा बिक्री वितरणमा लैजानका लागि समस्या हुँदै आएको थियो ।
जिर्घा खोलामा ५० मिटरको सिंगल स्पानयुक्त पक्की पूल निर्माण थालिएपछि सो क्षेत्रको सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष टेवा पुग्ने स्थानीयको विश्वास छ ।
पूल निर्माणले कमलामाई नगरपालिका वडा नंम्बर १२ हुँदै तीनपाटन, गोलान्जोर र फिक्कल गाउँपालिकाका विभिन्न वडाका स्थानीयहरुलाई समेत सदरमुकाम सिन्धुलीमाडीसम्म आवात जावत गर्न सुविधा हुने छ ।

पूल निर्माणको कार्य आगामी २०८३ साल असार १५ गते सम्मका लागि तोकिएको स्थानीय पूर्वाधार विकास आयोजना हेटौंडाका प्राविधिक राजिवकुमार साहाले बताए ।
सो पक्की पूलको सम्पूर्ण निर्माण कार्य तोकिएको म्यादभन्दा अगावै सम्पन्न गर्न लागिएको निर्माण कार्यमा संलग्न जीवन कन्स्ट्रक्सन कम्पनीका प्रवन्ध निर्देशक डिल्लीबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
सडक पुलको निर्माण कार्य तिब्र रुपमा संचालन गरेको बताउदै पुल निर्माण सम्पन्न भएपछि कमलामाई नगरपालिका १२ नम्बर वडा र सिक्रे,फलाटे लगाएत सो क्षेत्रका स्थानीय डेढलाल श्रेष्ठ र नारायण आलेले बताए ।


