
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा प्रहरी प्रधान कार्यालयले अतिसंवेदनशील निर्वाचन क्षेत्र भएका जिल्लामा ‘विशेष कमाण्ड’ बनाएर उच्च तहका अधिकृतलाई परिचालन गरेको छ । हेभिवेट भिडन्त हुने जिल्लामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
झापा, इलाम, सर्लाही, रौतहट, दोलखा, काभ्रे, सिन्धुपाल्चोक र रुपन्देही लगायतका जिल्लामा निर्वाचन सुरक्षाको कमाण्ड एसएसपीले गरेका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा जिल्लाको सुरक्षा नेतृत्व गर्न गोविन्द अधिकारीलाई खटाइएको छ । एसएसपी अधिकारीले झापा र इलाम जिल्लाको सुरक्षा कमाण्ड गर्नेछन् ।
सर्लाही र रौतहट हेर्ने गरी एसएसपी सुरेश काफ्लेलाई पठाइएको छ । दोलखामा नान्तिराज गुरुङ, काभ्रे र सिन्धुपाल्चोक हेर्ने गरी विनोद सिलवाल, रुपन्देही र कपिलवस्तुमा ऋषिराम कँडेल, कास्की र स्याङ्जामा जनार्दन जिसी तथा डोटी र अछाम हेर्ने गरी राजेन्द्र प्रसाद धमलालाई खटाइएको छ ।
_DAy215FC1r.jpg)
संवेदनशील आकलन गरिएका ३१ जिल्लामा एसएसपीहरूलाई थप मद्दतको रूपमा परिचालन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए । उनले भने, ‘तराईका जिल्लामा एसएसपी र पहाडका जिल्लाहरूमा एसपीहरूलाई सुरक्षा समन्वय गर्ने गरी थप मद्दत खटाएका छौँ ।’
निर्वाचन सुरक्षाको दृष्टिकोणले तराईको जिल्लामा ‘थ्रेट’ धेरै भएको आकलन गरिएको छ । पहाडी भूभागका ४६ वटा जिल्ला प्रहरी उपरीक्षक (एसपी)हरूलाई परिचालन गरिएको छ ।
सुरक्षा थ्रेट आकलन गरिएको सिन्धुली र मकवानपुर हेर्ने गरी एसएसपी प्रभु ढकाललाई खटाइएको छ । नुवाकोट र रसुवा हेर्ने गरी एसएसपी दिलीप घिमिरेलाई खटाइएको छ ।
_5SLyFpGXyH.jpg)
सबैभन्दा चुनौतीपूर्ण जिल्लाको रूपमा झापालाई लिइएको छ । झापा–५ बाट नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्व मेयर बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन् । झापाबाटै निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना मगर आमने ्सामने हुँदैछन् । एमाले र रास्वपाको ठुलो शक्ति सङ्घर्ष हुने आकलन गरेर झापामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सँगै एकजना एसपीलाई झापा–५ मात्रै हेर्ने गरी परिचालन गरिएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार झापा–५ मात्रै हेर्ने गरी एसपी रुकेश तन्डुकार खटिएका छन् । रामेछापमा एसपी डिल्लीनारायण पाण्डे, तनहुँमा सुनिल मल्ल, कालिकोटमा मुकुन्द प्रसाद रिजाल, रुकुम पूर्वमा पुष्पराज मल्ल, बाजुरामा वीरेन्द्र थापा, बझाङमा प्रेम शाही र अर्घाखाँचीमा डिल बहादुर मल्ललाई पठाइएको छ ।
झापामा ९ सय जना प्रहरी कर्मचारी थप मद्दतको रूपमा परिचालन गरिएको छ । त्यहाँ २३ जना सिनियर अधिकृत (इन्स्पेक्टर र सोभन्दा माथि) खटिएका छन् ।
_D44wR5QPuA.jpg)
- उपत्यकाको हरेक क्षेत्रमा एसपी
काठमाडौँ उपत्यकाको प्रत्यक्ष क्षेत्रको निर्वाचन सुरक्षा कमाण्ड प्रहरी उपरीक्षकहरूले गर्ने भएका छन् । हरेक क्षेत्रमा एकजना एसपीलाई सुरक्षा नेतृत्व गर्ने जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले बताए । उपत्यकाका १५ वटा क्षेत्रमा प्रतिक्षेत्र एकजना एसपीलाई सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा सुरक्षा अनुगमनको जिम्मेवारी एसएसपीलाई दिइएको छ । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १,२,३ र ४ मा अनुगमन गर्ने जिम्मेवारी एसएसपी रमेश बस्नेतलाई दिएको छ । निर्वाचन क्षेत्र नम्बर–५,६, र ७ मा सोमेन्द्र सिंह राठौर, निर्वाचन क्षेत्र नम्बर–८,९ र १० मा नवराज अधिकारी र ललितपुरमा सन्तोष खड्कालाई खटाइएको छ । भक्तपुरको सुरक्षा अनुगमन गर्ने जिम्मेवारी एसएसपी प्रवीण धिताललाई दिइएको छ ।


