
इलाम । नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले इलाम २ का लागि आफ्नो चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गर्नु भएको छ । ७ पृष्ठ लामो उक्त घोषणापत्रमा इलामको आर्थिक समृद्धि, पूर्वाधार विकास र युवा सशक्तिकरणलाई प्राथमिकतामा राखिएको छ ।
सुहाङले घोषणापत्रमा ‘अबको इलाम Global Brand’ को मूल नारा दिएका छन् । बाँस, चिया, छुर्पी र अलैँचीजस्ता यहाँका स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष बजार व्यवस्थापन र ब्रान्डिङको योजना उहाँले अघि सार्नु भएको छ । विदेशी व्यवसायी र विज्ञहरूलाई इलाममा आमन्त्रण गरी चियाको प्याकेजिङ र गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
उपचुनावमा विजेता बनेका उनले १६ महिनामा भएका उपलब्धिको चर्चा गर्दै मदन भण्डारी राजमार्ग (इलाम खण्ड), मेची राजमार्गको स्तरोन्नति र विभिन्न रणनीतिक सडकहरूको निर्माणलाई तीव्रता दिने वाचा गर्नु भएको छ ।
दमक–चिसापानी सडक, नेपाल्टार–मङ्गलबारे सडक र विभिन्न स्थानका पक्की पुलहरूको निर्माणको पूर्णतालाई सुहाङले समेटेका छन् । केचना–कञ्चनजङ्घा कोरिडोर सडकलाई राष्ट्रिय राजमार्गको रूपमा विकास गर्ने उहाँको लक्ष्य छ ।
सामाजिक सञ्जालको सही प्रयोग, सूचना प्रविधिको विकास र युवा स्वरोजगारका लागि स्टार्टअप कोर्स र करार खेती जस्ता नवीन अवधारणा उहाँको छ । क्याम्पसहरूमा आईटी र रोजगारमूलक विषय अध्यापन गराउन पहल गर्ने तथा खेलकुद र कला क्षेत्रलाई व्यावसायिक बनाउने योजना अघि सारिएको छ ।
इलामलाई ‘कला तथा साहित्य पर्यटन जिल्ला’ का रूपमा विकास गर्ने सुहाङको अर्को महत्त्वपूर्ण एजेन्डा हो । पर्यापर्यटन, चिया पर्यटन, साहसिक पर्यटन र कृषि पर्यटनको प्रवर्द्धनसँगै उनको घोषणापत्रमा किराँत भाषा, संस्कृति र मातृभाषाको संरक्षणमा विशेष पहल गर्ने उल्लेख छ ।
घोषणापत्रमा भूमिहीन र सुकुमबासी समस्या समाधानका लागि धनीपुर्जा वितरण प्रक्रियालाई निष्कर्षमा पुर्याउने लेखिएको छ । इलाम अस्पताललाई ५० शय्या र अन्य गाउँपालिकाहरूमा १५ शय्याको अस्पताल निर्माणलाई प्राथमिकता दिइएको छ ।
आफ्ना पिता तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङले कोरेको समृद्धिको सपनालाई पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उहाँले घोषणापत्रमा ‘वाचा होइन, कामबाट विश्वास जित्ने आफ्नो संकल्प’ भन्नु भएको छ ।
उहाँले छोटो अवधिमा सबै अपेक्षा पूरा गर्न नसकिएको भन्दै त्यसमा आत्मसमीक्षासहित इलाम-२ का कृषि, रोजगारी, स्वास्थ्य र आधारभूत पूर्वाधारका समस्या समाधानको जिम्मेवारीबाट आफू नपन्छिने बताउनु भएको छ ।
सुहाङले आफूलाई केवल एक उम्मेदवार मात्र नभई नयाँ सोच, धैर्यता र ऊर्जा बोकेको युवाका रूपमा प्रस्तुत गर्नु भएको छ ।



