२०८२ फागुन १२ मङ्गलवार , ०१:२६:२१ बजे

Sajhamanch
'

लागूऔषध तस्कर मारिएपछि हिंसा रोक्न मेक्सिकोमा हजारौँ सैनिक तैनाथ

मङ्गलवार, फागुन १२, २०८२

झापा । मेक्सिकोका एक शक्तिशाली लागूऔषध तस्कर मारिएपछि शुरू भएको हिंसाको लहर रोक्न र सुरक्षा सुदृढ पार्न सरकारले हजारौँ सैनिक तैनाथ गरेको छ ।

रक्षा सचिव रिकार्डो ट्रेभिल्लाले हिजो पश्चिमी मेक्सिकोमा थप २ हजार ५०० सैनिक पठाइएको बताउनुभएको बीबीसीले जनाएको छ । योसँगै आइतवारदेखि समग्रमा झन्डै ९ हजार ५०० सैनिक तैनाथ भएका छन् ।

‘एल मेन्चो’ भनेर चिनिने नेमेसियो ओसेगुएरा सर्भान्टेसको आइतवार जालिस्को राज्यमा मेक्सिकन विशेष बलले पक्राउ गरेको केही समयपछि हिरासतमा ज्यान गएपछि कम्तीमा २० वटा राज्यमा अशान्ति फैलिएको खबरमा उल्लेख छ ।

‘जलिस्को न्यू जेनेरेशन कार्टेल’ (सीजेएनजी) मेक्सिकोको सबैभन्दा डरलाग्दो आपराधिक सङ्गठनहरूमध्ये एक हो र यसका नेता देशको ‘मोस्ट वान्टेड’ अर्थात् सर्वाधिक खोजिएका व्यक्ति थिए ।

हिंसा शुरू भएदेखि नै जालिस्को राज्यमा मेक्सिकोको राष्ट्रिय गार्डका कम्तीमा २५ सदस्यको ज्यान गएको सुरक्षामन्त्री ओमर गार्सिया हार्फुचले जानकारी दिनुभएको छ ।

‘एल मेन्चो’ लाई पक्राउ गर्न आइतवार हलिस्को राज्यको तापाल्पा क्षेत्रमा मेक्सिकन सेनाले अपरेशन चलाएको थियो । सेना र कार्टेल सदस्यबीच मुठभेड हुँदा ‘एल मेन्चो’ गम्भीर घाइते भएका थिए । अपरेशनमा एल मेन्चो र उनको समूहका थप चार सदस्यीय मारिएका रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट लगातार लागूऔषध अमेरिकामा तस्करी भइरहेको र त्यसलाई रोक्न चेतावनी दिँदै आउनुभएको थियो । अमेरिकाले ‘एल मेन्चो’ बारे सूचना दिनेलाई १ करोड ५० लाख डलरको इनाम दिने घोषणा पनि गरेको थियो ।

सम्बन्धित खबर