२०८२ फागुन ११ सोमवार , ०७:१७:१७ बजे

Sajhamanch
'

माओवादी विद्रोह अन्त्यकाे ‘अन्तिम चरण’ मा पुगेको भारतको दाबी

सोमवार, फागुन ११, २०८२

झापा ।  भारत सरकारले दशकौँदेखि चलिरहेको माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ ।

एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यहरूले विद्रोह अन्त्यतर्फको ‘अन्तिम चरण’ शुरू भएको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

सरकारी अधिकारीहरूकाअनुसार छत्तीसगढमा वर्षाैँदेखि सक्रिय रहेका ‘देवजी’ भनेर पनि चिनिने माओवादी कमान्डर थिप्पिरी तिरुपतिले आत्मसमर्पण गरेका छन् । उनको आत्मसमर्पणलाई सुरक्षाकर्मीहरूले विद्रोही संरचनामा ठूलो धक्का ठानेका छन् ।

छत्तीसगढका उप–मुख्यमन्त्री विजय शर्माले गएराति सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको वक्तव्यमा ‘यो अन्तिम चरण हो’ भन्दै यसलाई सशस्त्र नक्सलवादको पूर्ण उन्मूलनतर्फको शक्तिशाली कदम बताउनुभएको छ ।

भारतले माओवादी विद्रोहीविरुद्ध व्यापक सुरक्षा अभियान तीव्र बनाइरहेको छ । हिमालयको फेदमा रहेको एक गाउँको नामबाट परिचित ‘नक्सलवादी’ आन्दोलन झन्डै ६ दशकअघि शुरू भएको थियो ।

त्यसयता फैलिँदै गएको यो आन्दोलन सन् २००० को दशकको मध्यतिर चरम अवस्थामा पुगेको थियो । त्यतिबेला १५ हजारदेखि २० हजारसम्म लडाकू सक्रिय रहेको अनुमान गरिएको थियो ।

त्यति बेला देशको झन्डै एकतिहाइ भूभागमा विद्रोही प्रभाव देखिन्थ्यो । तर पछिल्ला वर्षहरूमा सुरक्षात्मक कारबाही र आत्मसमर्पणको लहरसँगै आन्दोलन नाटकीय रूपमा कमजोर भएको सरकारी दाबी छ ।

विद्रोहका क्रममा १० हजारभन्दा धेरै व्यक्तिको ज्यान गएको छ । माओवादीहरूले भने आफूहरू वन क्षेत्रका सीमान्तकृत आदिवासी समुदायको अधिकारका लागि लडिरहेको बताउँदै आएका छन् । ती क्षेत्रहरूमा खानी कम्पनीहरूको चासो र बहुमूल्य प्राकृतिक स्रोतको दोहन मुख्य विवादको विषय रहँदै आएको छ ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२४ यता ५०० भन्दा धेरै माओवादी विद्रोही मारिएका छन् जसमा केही शीर्ष कमान्डर पनि परेका छन् ।

गृहमन्त्री अमित शाहले शनिवारको एक सम्बोधनमा भारत ‘मार्च ३१ सम्म माओवाद अन्त्य गर्न तयार’ रहेको बताउनुभएको थियो ।

सम्बन्धित खबर