
पोर्चुगल । नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा प्रयोग भएको पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी गर्नेहरुको संख्या दुई हजार भन्दा बढी भएको छ ।
यहाँस्थित नेपाली राजदूतावासमा सम्वन्धित व्यक्तिहरु नै आफ्नो प्रहरी चारित्रिक प्रमाणपत्रमा छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी दिइरहेका छन् ।
यसरी उजुरी दिनेहरुले नेपाल प्रहरीबाट जारी भएको आफ्नो प्रमाणपत्र सक्कली भएपनि त्यसमा प्रयोग भएको दुई देशको छाप र सरकारी अधिकारीको हस्ताक्षर नक्कली भएको दावी गरेका छन् ।
उजुरीमा कतिपययले आफुले प्रहरी प्रमाणपत्र प्रमाणीकरणका लागि काम लगाएको व्यक्तिको नाम नै किटान गरेर उजुरी दिएका छन् । भारतको दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर भएका प्रहरी रिपोर्टहरु नक्कली भएका हुन् ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलका अनुसार इमेलबाट र कार्यालयमै उपस्थित भएर उजुरी गर्ने नेपालीहरुको संख्या दिनहुँ बढ्दो छ । ‘अहिले राजदूतावासको मुख्य काम यही उजुरी लिनेजस्तो भएको छ, सयौं नेपालीहरुको सक्कली प्रहरी रिपोर्टमा नक्कली छाप र हस्ताक्षर प्रयोग भएको रहेछ’, राजदूत पौडेल भन्छन्, ‘लिखित रुपमै हामीले एक हजार जत्ति उजुरी पाएका छौं । दूतावासको इमेलमा त्यो भन्दा बढी उजुरी छ ।’
अहिले उजुरीकर्ताहरुको विवरण संकलन गर्ने काम भइरहेको राजदूतावासले जनाएको छ । प्रहरी रिपोर्ट सक्कली भएपनि त्यसको प्रमाणीकरणका लागि यहाँ राजदूतावास स्थापना नहुँदा भारतको दिल्ली पठाउनेहरुको प्रमाणीकरण भने नक्कली भएको पाइएको हो ।
हालसम्म जम्मा भएको उजुरीकर्ताहरुको विवरण संकलन गरेर नेपाली राजदूतावासले यहाँको सरकारी पक्षलाई उनीहरु दोश्रो व्यक्तिबाट ठगिएको र प्रहरी रिपोर्ट सक्कली नै रहेको जानकारी गराएको छ । ‘रिपोर्टमा प्रयोग भएको दुई दूतावासको छाप र हस्ताक्षर नक्कली भएपनि नेपाल प्रहरीले जारी गरेको रिपोर्ट सक्कली भएकाले हामीले आधिकारिक रुपमा यहाँका सरकारी निकायलाई जानकारी गराएका छौं,’ राजदूत पौडेलले भने ।
पोर्चुगलमा रहेका आप्रवासीलाई कानुनी हैसियत दिने संस्था ‘एकीकरण, आप्रवासन तथा शरणार्थी निकाय (एआईएमए) ले अस्थायी अवास अनुमति पत्र (टिआरसी)का लागि आवेदन दिएका नेपालीहरुको कागजपत्र छानबिन गर्दा प्रहरी रिपोर्ट नक्कली भेटेको हो ।
यहाँको उक्त अधिकारसम्पन्न निकायले प्रहरी रिपोर्ट नक्कली भन्दै उनीहरुलाई देशै छाड्न चेतावनी दिइरहेको छ ।
नक्कली छाप र हस्ताक्षर भएको सक्कली प्रहरी रिपोर्ट यहाँका सरकारी पक्षमा बुझाउदा सरकारी कागजपत्र दुरुपयोग र किर्ते गरेको अभियोग समेत लागेको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार नक्कली पुलिस रिपोर्ट बझाएको भन्दै सयौंलाई यहाँका आप्रवासन हेर्ने निकायले इमेल मार्फत् सरकारी कागजपत्र किर्तेको मुद्दा लगाइएको समेत खबर पठाएका छन् ।
एक पीडितका अनुसार यसरी भएको नक्कली ‘स्ट्याम्प’ प्रकरणले पोर्चुगलमा तीन हजार भन्दा बढी नेपाली नागरिक कानुनी समस्यामा परेका छन् ।
हाल लिस्वनमा रहेका सिन्धुपाल्चोकका दीपक नेपाल आफू समेत यसको मारमा परेको बताउँछन् । उनी आफूहरुको अस्थायी आवास अनुमति प्रक्रिया समेत रोकिएको र देशनिकाला तथा जेल सजायको त्रास बढेको बताउँछन् ।
तीन वर्षदेखि पोर्चुगलमा रहेका उनी अहिले टिआरसी आउने वित्तिकै नेपाल जाने तयारीमा रहेकोमा कानूनी कारबाहीको इमेल आएपछि समस्यामा छन् । ‘मसँग मात्रै १५ सय जना भन्दा बढी सम्पर्कमा हुनुहुन्छ, हामी १५ यस जना भन्दा बढीले ह्वाट्सएप ग्रुप बनाएर कसरी समाधान खोज्ने भनेर सामुहिक रुपमा छलफल गरिरहेका छौं,’ नेपालले भने, ‘हामीलाई यहाँ रहेको नेपाली संघसंस्था र नेपाल सरकार तथा राजदूतावासको सहयोगको खाँचो छ, हामी संगठित अपराधको शिकार भयौं ।’
उनीजस्ता थुप्रै नेपालीहरु लिस्वनस्थित नेपाली राजदूतावासमा आफूहरुले कुनै कागजपत्र किर्ते नगरेको बरु आफू ठगीमा परेको भन्दै जाने गरेका छन् । उनीहरुले नेपाल सरकार र दूतावाससँग सहजीकरण तथा मानवीय आधारमा पुनर्विचारको माग गर्दै आएका छन् ।
बिहीवार नेपाली राजदूतावास पुगेका पीडितहरुले यहाँको सरकारी निकाय तथा आप्रवासन हेर्ने निकायलाई यस बारेमा सत्य जानकारी गराउन ढिला गरे आफूहरु सिधै यहाँको राष्ट्रपतिसमक्ष अनुरोध गर्न जाने बताए ।
कसरी बन्यो नक्कली रिपोर्ट ?
अहिलेसम्म फेला परेको तथ्य अनुसार नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) मा दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग भएको छ । सन् २०२४ को जुन ३ सम्म यहाँ रहेर काम गरिरहेकाहरुलाई पोर्चुगल सरकारले अस्थायी आवास अनुमती पत्र (टिआरसी) दिने नीति लिएको छ ।
सोही क्रममा बुझाइनुपर्ने प्रहरी रिपोर्टलाई दुवै देशको दूतावासबाट प्रमाणिकरण गर्नेपर्ने प्रावधान रहेको छ । त्यसका लागि सन् २०२४ को मे महिनादेखि नेपालीहरु फ्रान्स वा दिल्ली जानुपर्ने भयो ।
प्रहरी रिपोर्ट, विवाह दर्ता, जन्म दर्तालगायत प्रमाणीकरण गर्ने अधिकार सहित पोर्चुगलको लिस्वनमा १० वर्षदेखि सञ्चालनमा रहेको अवैतनिक महावाणिज्यदूतको कार्यालय नेपाल सरकारको मन्त्री परिषद्ले बन्द गरिदियो ।
२०२४ अप्रिल ३० मा अवैतनिक महावाणिज्यदूतको कार्यालय बन्द भएपनि तत्कालै यहाँ नेपाली राजदूतावासको कार्यालय स्थापना हुन सकेन । कन्सुलर सेवा बन्द भएपछि र पोर्चुगलमा नेपाली दूतावास स्थापना नहुँदासम्मको १० महिनाको अवधिमा नेपालीहरु कुनै पनि कागजात प्रमाणिकरण गर्नका लागि पोर्चुगलबाट फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावास या भारतको दिल्लीस्थित राजदूतावास कार्यालयमा जार्नुपर्ने वाध्यता बन्यो ।
यही मौकालाई पोर्चुगलमा रहेका नेपाली तथा भारतीयहरुले व्यवसायका रुपमा चलाएका थिए । कागजात प्रमाणीकरणको चापका कारण ती दलालहरुले पोर्चुगलको आफ्नै घरमा बसेर समेत दुई देशको छाप लगाएर नक्कली कागज तयार गरे । उक्त घटनामा सम्लग्न दुई नेपाली केही महिना अघि पक्राउ समेत परिसकेका छन् ।
यहाँबाट दिल्ली पठाएको प्रहरी रिपोर्ट समेत दलालहरुले राजदूतावास नै नपुर्याई भारतका होटलमा बसेर नक्कली छाप र हस्ताक्षर गर्ने गरेको स्रोत बताउँछ । सुरुमा सामान्य हल्लाका रुपमा भित्रिए पनि पछि यहाँको प्रहरी र आप्रवासन हेर्ने निकायले अनुसन्धान गर्दा किर्ते काम भएको पुष्टि भएको हो । सक्कली प्रहरी रिपोर्टमा नक्कली छाप र हस्ताक्षर गर्नेहरुले प्रतिव्यक्ति कम्तिमा दुई सय युरो (करिब ३२ हजार नेपाली रुपैयाँ) लिएको स्रोत बताउँछ ।
नेपाली संघसंस्थाले वास्ता नगरेको गुनासो
बिहीवार पोर्चुगलको राजधानी लिस्वनस्थित नेपाली राजदूतावासले नेपाली समुदायसँग अन्तरक्रिया गरिरहेको थियो । पोर्चुगल र नेपाललाई जोड्ने सम्भावनाहरु र शुक्रबार हुने दुई देशबीचको औपचारिक बैठकमा लैजान सकिने विषयहरुमा केन्द्रित रहेको छफलफलमा जब दुई युवाहरुले फरक विषयमा आक्रोश व्यक्त गरे । त्यसपछि अन्तरक्रियाले नयाँ मोड लियो ।
हाल लिस्वनमा रहेका प्युठानका बिनोद सुनारले कार्यक्रम हलमा आक्रोशित हुँदै भने, ‘एनआरएन र यहाँका नेपाली संघसंस्थाहरु देउसी भैली खेल्न र तिजमा नाच्न मात्रै गठन भएको हो ? दुई हजार भन्दा बढी नेपालीहरु नक्कली कागजको नाममा देशै निकाला हुनुपर्ने, नगरेको अपराध भोग्नुपर्ने अवस्था हुँदा पनि चुइक्क नबोल्ने ?’
उनले थपे, ‘मैले एक पटक नेपालीहरुको प्रहरी रिपोर्टमा नक्कली छाप र हस्ताक्षर लगाएको विषयमा बोल्दा मलाई एनआरएनका पदाधिकारी हुँ भन्दै फोन गरेर धम्क्याए ।’
सुनारका अनुसार नेपाली समुदायको विभिन्न संघसंस्थामा रहेकोहरु समेत प्रहरी रिपोर्टमा नक्कली छाप लगाउने र हस्ताक्षर गर्ने अपराधमा सम्लग्न छन् । त्यस्ता व्यक्तिहरुले आफूलाई फोन गरेर यो विषयलाई नउठाउन र उठाएमा राम्रो नहुने भन्दै पटक–पटक धम्क्याएको सुनार बताउँछन् ।
कार्यक्रममा सहभागी भएका यहाँका तीन वटा एनआरएनका अध्यक्षहरु तर्फ फर्कंदै सुनारले भने, ‘एनआरएनको कार्यसमितिमा रहेकाहरुले नै म छाप लगाएर ल्याइदिन्छु भन्दै पैसा लिएको प्रहरी रिपोर्टमा समेत नक्कली छाप रहेछ, यहाँ आएर पनि जनता लुट्ने र अपराध गर्ने हो तपाईंहरु ?’
तत्काल छानबिन गर्न निर्देशन
नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले यो घटनाको सत्यतथ्य बुझेर तत्कालै प्रतिवेदन तयार गर्न यहाँस्थित नेपाली राजदूतावासलाई निर्देशन दिएका छन् ।
कागजपत्र किर्ते गर्ने र ठगी गर्ने कार्यक्रममा नेपालीहरु समेत सम्लग्न भएको उजुरी र गुनासो प्राप्त भएकाले अनुसन्धान गर्न र ती व्यक्तिहरु माथि छानबिन गरी कानूनको दायरामा ल्याउन निर्देशन दिएका छन् ।
नेपाल सरकारको प्रतिनिधित्व गरेर औपचारिक पोर्चुगल भ्रमणमा रहेका बेला आफूले यस्ता गुनासो सुन्नुपरेको र दुई हजार भन्दा बढी नेपालीहरु एउटै समस्यामा परेकाले यसलाई सामान्य रुपमा नलिन समेत उनले आग्रह गरे ।
राजदूतावासमा बिहीवार आयोजित एक कार्यक्रममा परराष्ट्र सचिव राईले भने, ‘यो गम्भिर अपराधमा सम्लग्न एक जनालाई पनि नछोड्नुस्, धेरै जानकारी र तथ्यहरु सार्वजनिक भइसकेका रहेछन्, तत्कालै प्रतिवेदन तयार गरेर कानुनी रुपमा अघि बढ्नुस् ।’


