
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरू – नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा र उज्यालो नेपाल पार्टी – ले आफ्ना घोषणापत्रहरू सार्वजनिक गरेका छन् ।
दलहरूका घोषणापत्रमा भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ, सहरी विकास, खानेपानी र डिजिटल पूर्वाधारका क्षेत्रमा महत्त्वाकाङ्क्षी योजनाहरू समेटिएका छन् । चुनावअघि दलहरूले महत्त्वपूर्ण योजना समेटेर आकर्षक एजेन्डा बनाउने तर चुनाव जितिसकेपछि कार्यान्वयनमा बेवास्ता गर्ने प्रवृत्ति नै छ ।
यसपटकका चुनावका लागि दलहरूले सडक पूर्वाधारदेखि रेलमार्गसम्मका विकासका महत्त्वपूर्ण एजेन्डा सार्वजनिक गरिसकेका छन् । यस्ता एजेन्डा विगतका निर्वाचनका घोषणापत्रहरूमा पनि पटक–पटक दोहोरिएका तर कार्यान्वयनमा भने सुस्तता देखिएकाले यसपटक पनि ‘जनता झुक्याउने खेल’ मात्रै हुने हो कि भन्ने प्रश्न उठेको छ । कुन दलले विकासका कस्ता एजेन्डा ल्याएका छन् । हामीले यहाँ चर्चा गरेका छौँ ।
नेपाली कांग्रेसः दिगो विकास र डिजिटल रूपान्तरणको सङ्कल्प
यस्तै ऊर्जा क्षेत्रमा आगामी पाँच वर्षभित्र न्यूनतम १५ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुर्याउने र प्रतिव्यक्ति विद्युत् खपत ७५० युनिट पुर्याउने, बूढीगण्डकी र दूधकोशीजस्ता ठुला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकतामा राखी अघि बढाउने प्रतिबद्धता कांग्रेसको छ ।

नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा दिगो भौतिक पूर्वाधारको निर्माणलाई आर्थिक वृद्धिको आधार मानेको छ । साथै घोषणापत्रमा राजमार्ग, उत्तर–दक्षिण करिडोर र ग्रामीण सडकहरूको निर्माण तथा स्तरोन्नति गर्ने घोषणा गरेको छ ।
सिँचाइलाई उत्पादन, भण्डारण र बजारसँग जोडेर किसानको आम्दानी बढाउन आधुनिक सिँचाइ प्रणाली विकास गर्ने उल्लेख छ ।
सहरी पूर्वाधारतर्फ ‘बस्न योग्य सहर’ अवधारणाअन्तर्गत किफायती आवास, सुविधासम्पन्न सार्वजनिक यातायात र वातावरणीय दिगोपनालाई जोड दिइएको छ । स्वच्छ खानेपानीमा सबैको पहुँच सुनिश्चित गर्न वर्षाको पानी संकलन, खोलाको व्यवस्थित प्रवाह र मुहान संरक्षणमा जोड दिइएको छ । डिजिटल पूर्वाधारमा ’नेपाललाई विश्वस्तरको उद्यमी ‘डिजिटल हब’मा रूपान्तरण गर्ने’ लक्ष्यसहित डिजिटल साक्षरता, साइबर सुरक्षा र डाटा संरक्षणलाई प्राथमिकता दिने उल्लेख गरेको छ ।
एमालेका एजेन्डा: भू–उपग्रह स्थापनादेखि पूर्वपश्चिम रेल
नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई गन्तव्य मानेर पूर्वाधार विकास र सुशासनलाई जोड दिएको छ । पार्टीले नेपालको आफ्नै भू–उपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा सुनिश्चित गर्ने र नागरिक एपलाई ‘सुपर एप’का रूपमा विकास गरी सरकारी सेवाहरूलाई एकीकृत गर्ने, यातायात क्षेत्रमा सबै गाउँपालिकालाई सबै मौसममा चल्ने सडकले जोड्ने, पूर्व–पश्चिम राजमार्गलाई एक्सप्रेस हाइवेमा स्तरोन्नति गर्ने उल्लेख छ ।

मेची–महाकाली विद्युतीय रेलमार्गको निर्माणलाई तीव्रता दिने उल्लेख छ । वीरगञ्ज–काठमाडौँ विद्युतीय रेलमार्ग र काठमाडौँ–केरुङ रेलमार्गको पूर्वाधार निर्माणको पहल गर्ने एमालेको पुरानो एजेन्डा हो । ऊर्जा सुरक्षाका लागि जलविद्युत, सौर्य, ग्रीन हाइड्रोजन लगायतको नवीकरणीय ऊर्जाको उत्पादन गरी नेपाललाई दक्षिण एसियाको ‘स्वच्छ ऊर्जा निर्यातक हब’ को रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
आगामी २ वर्षमा सम्पूर्ण घरहरूमा आधारभूत खानेपानी तथा सरसफाईमा पहुँच पुर्याउने र ५ वर्षमा सबै जनतालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी र सरसफाइमा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता एमालेको छ । साथै सबै उपमहानगरहरूमा ‘युटिलिटी टनेल’ निर्माण गर्ने घोषणा गरिएको छ ।
राप्रपाको पृथ्वी पथ र ऊर्जा दशक
राप्रपाले घोषणापत्रमा ऊर्जा, भौतिक पूर्वाधार, सिँचाइ, सहरी पूर्वाधार, खानेपानी र डिजिटल विकासका महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरेको छ । पार्टीले आगामी १० वर्षलाई ‘ऊर्जा उत्पादन दशक’ घोषणा गर्दै २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्ने र नेपाललाई शतप्रतिशत हरित ऊर्जा प्रयोग गर्ने तथा हरित ऊर्जा निर्यातकर्ता मुलुकका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीति लिएको छ ।
गरिबीको रेखामुनि रहेका जनसंख्यालाई विद्युत् महसुल निःशुल्क गर्ने घोषणा पनि राप्रपाले गरेको छ । भौतिक पूर्वाधारमा मेट्रो रेल, पोडवे, आकाशे पुल, अन्डरपास र रिङरोड विस्तारमार्फत ट्राफिक जाम अन्त्य गर्ने तथा मेचीदेखि महाकालीसम्मको महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सिँचाइका लागि तत्काल रासायनिक मल कारखाना स्थापना गर्ने र सिँचाइ प्रयोजनमा सहुलियत दरमा विद्युत् उपलब्ध गराउने नीति ल्याइनेछ । ‘स्मार्ट सहर र स्मार्ट गाउँ’को अवधारणाअन्तर्गत सातै प्रदेशमा स्मार्ट सहर र स्मार्ट गाउँ निर्माण गर्ने योजना राप्रपाको छ । खानेपानीलाई क्रमशः निःशुल्क गरिने घोषणा गरिएको छ । डिजिटल नेपालको परिकल्पना गर्दै एकद्वार प्रणालीमार्फत सबै सरकारी सेवाहरू उपलब्ध गराउने र पाँच वर्षभित्र सबै सरकारी सेवाहरूलाई पूर्ण रूपमा कागजविहीन बनाउने पार्टीको योजना छ ।
रास्वपाको रेलमार्ग विस्तारको ५० वर्षे योजना
रास्वपाले आफ्नो ‘वाचापत्र २०८२ः थिति बसाल्ने सङ्कल्प’ मार्फत भौतिक, ऊर्जा, सिँचाइ, सहरी र डिजिटल पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । पार्टीले राष्ट्रिय गौरवका आयोजनाहरूलाई आगामी दुई वर्षभित्र अनिवार्य सम्पन्न गर्ने गरी ‘नतिजामुखी समयबद्ध कार्ययोजना’ लागु गर्ने उल्लेख छ । सडक पूर्वाधारमा इन्जिनियरिङ मापदण्ड र ठेक्का प्रक्रियामा सुधार ल्याई राष्ट्रिय राजमार्ग सञ्जाल विस्तार गर्ने र नयाँ बाइपास सडकहरू निर्माण गर्ने उल्लेख छ ।

नेपालको यातायात प्रणालीमा दीर्घकालीन परिवर्तन ल्याउन विस्तृत अध्ययनका आधारमा रेलमार्ग विस्तारको ५० वर्षे योजना ल्याउने घोषणापत्रमा उल्लेख गरेको छ । रेल्वे विकासका लागि मेची–महाकाली विद्युतीय रेलमार्गलाई यात्रु र माल ढुवानीको मेरुदण्ड बनाउने र नेपाललाई चीन र भारतका रेल सञ्जालसँग जोड्ने महत्वाकांक्षी योजना प्रस्तुत गरिएको छ ।
ऊर्जा क्षेत्रमा आगामी दशकमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता हासिल गर्ने लक्ष्य राखिएको छ । आन्तरिक विद्युत् खपत वृद्धि गर्न घरेलु विद्युत् दर पुनर्संरचना गरी प्रतिव्यक्ति वार्षिक बिजुलीको खपत १५०० किलोवाट आवर पुर्याउने लक्ष्य छ । सिँचाइ, रासायनिक मलखाद तथा कृषि यान्त्रीकीकरणमा प्राथमिकताका साथ लगानी वृद्धि गर्ने प्रतिबद्धता छ ।
खानेपानीको तराईका विभिन्न जिल्लाहरूमा देखापरेको आर्सेनिकको समस्या समाधान गर्न ‘आर्सेनिकमुक्त तराई अभियान’ सुरु गर्ने जनाइएको छ । फोहोरबाट ऊर्जा उत्पादन परियोजना सुरु गर्ने महत्त्वाकाङ्क्षी योजना पनि प्रस्तुत गरिएको छ । रास्वपाले सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै हालको १.५ अर्ब डलरको निर्यातलाई आगामी १० वर्षमा ३० अर्ब डलर पुर्याउने लक्ष्य राखेको छ ।
नेकपा : द्रुत गतिमा पूर्वाधार निर्माण र विद्युत् निर्यात
नेपाली कम्युनिस्ट पार्टीले आफ्नो घोषणापत्रमा देशको समग्र विकासका लागि भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ, सहरी पूर्वाधार र डिजिटल पूर्वाधारका क्षेत्रमा महत्त्वाकाङ्क्षी योजनाहरू प्रस्तुत गरेको छ । पार्टीले आगामी ५ वर्षभित्र राष्ट्रिय गौरवका आयोजनाहरू र अन्य महत्त्वपूर्ण आयोजनाहरूको निर्माण द्रुत गतिमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसमा पूर्वपश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौँ–निजगढ द्रुतमार्ग र उत्तरदक्षिण लोकमार्गका करिडोर समावेश छन् ।

रेलमार्गको क्षेत्रमा केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्गको निर्माण प्रक्रिया अगाडि बढाइनेछ, साथै पूर्वपश्चिम रेलमार्ग र काठमाडौँैमा मेट्रोरेल तथा मोनोरेल निर्माण कार्यलाई पनि प्राथमिकता दिइनेछ । हवाई यातायात सुधारका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ५ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।
ऊर्जा क्षेत्रमा आगामी ५ वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपत ७५० किलोवाट घण्टा पुर्याउने लक्ष्य छ र राष्ट्रिय प्रणालीको क्षमता १० हजार मेगावाट थप गरी १५ हजार मेगावाट पुर्याइनेछ । नवीकरणीय ऊर्जाको प्रवर्धन गरी नेपाललाई शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गरिनेछ । सिँचाइको क्षेत्रमा आगामी ५ वर्षभित्र ८० प्रतिशत सिँचाइयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गर्ने र तराई–मधेसमा सोलार सिँचाइ पम्पको संख्या ५ वर्षभित्र १० हजार पुर्याउने लक्ष्य छ ।
सहरी विकासअन्तर्गत, छानिएका २० वटा सहरलाई स्मार्ट सिटी र १०० वटा ग्रामीण बस्तीलाई स्मार्ट भिलेज बनाउने योजना छ । डिजिटल पूर्वाधारमा ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट, प्रसारण र सञ्चार पूर्वाधार विस्तार गरी स्थानीय तहसम्म ब्रोडब्यान्ड पुर्याइनेछ र सामुदायिक विद्यालयहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उल्लेख छ ।
उज्यालो नेपालको उज्यालो भविष्यको परिकल्पना
उज्यालो नेपाल पार्टीले आफ्नो चुनावी घोषणापत्रमा भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ, सहरी पूर्वाधार, खानेपानी र डिजिटल पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ । पार्टीले आगामी पाँच वर्षभित्र ८ हजार किमि सडक कालोपत्रे गर्ने, ४ हजार किमि ग्राभेल गर्ने र ३ हजार किमि नयाँ ट्रयाक खोल्ने घोषणा गरेको छ ।

रेलमार्ग निर्माणका लागि रक्सौल–काठमाडौँ–केरूङ मार्ग र पूर्वपश्चिम रेलमार्गसम्बन्धी विस्तृत अध्ययन गरी लगानीको मोडालिटी तयार पारिनेछ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ ।
ऊर्जा क्षेत्रमा २०३० सम्ममा १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट जलविद्युत उत्पादन पुर्याउने लक्ष्य राखिएको छ । यसबाट भारत, बंगलादेश र चीनतर्फ विद्युत् निर्यात वृद्धि गरी वार्षिक ५ अर्ब डलर राजस्व प्राप्त गर्ने लक्ष्य पार्टीको छ ।
कृषि क्षेत्रको विकासका लागि ५ वर्षभित्र ३ लाख हेक्टर क्षेत्रमा सतह सिँचाइ सुविधा उपलब्ध गराउने, तराई–मधेसका पकेट क्षेत्रहरूमा भूमिगत सिँचाइ विस्तार गर्ने र कृषि सिँचाइका लागि प्रयोग हुने विद्युत् निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
पार्टीले ‘एक प्रदेश एक स्मार्ट सिटी’ अवधारणाअन्तर्गत भिजन २०४० सम्ममा १३ वटै सहरमा पूर्ण रूपमा स्मार्ट सिटी सञ्चालन गर्ने व्यवस्थाका लागि अध्ययन कार्य अगाडि बढाइनेछ । डिजिटल पूर्वाधार विकासका लागि डेटा संरक्षण ऐन, साइबर सुरक्षा ऐनलगायत एआई नीति निर्माण गरी ब्लकचेनको प्रयोगलाई सुरक्षित बनाएर भ्रष्टाचार नियन्त्रणका लागि पारदर्शिता बढाइनेछ । ‘नेपाल आइटी हब’ को अवधारणा अन्तर्गत १० अर्बको स्टार्टअप कोष स्थापना गरी सातै प्रदेशमा आईटी पार्क स्थापना गर्ने घोषणा गरिएको छ ।
सबै राजनीतिक दलहरूले नेपालको विकासका लागि पूर्वाधार निर्माणलाई केन्द्रीय एजेन्डा बनाएका छन् । सडक सञ्जालको विस्तार, विद्युतीय रेलमार्गको परिकल्पना, ऊर्जामा आत्मनिर्भरता र निर्यातको लक्ष्य, आधुनिक सिँचाइ प्रणालीको विकास, स्मार्ट सहरको अवधारणा र डिजिटल नेपालको निर्माण यी सबै घोषणापत्रका साझा बिन्दुहरू हुन् ।


