२०८२ फागुन १० आइतवार , ०१:५०:४२ बजे

Sajhamanch
'

झापामा निर्वाचन तयारी : ७३८० कर्मचारी र ९ हजार सुरक्षाकर्मी परिचालन

आइतवार, फागुन १०, २०८२

झापा । झापामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यापक जनशक्ति परिचालन गरिने भएको छ। जिल्लामा निर्वाचन सम्पन्न गर्न कुल ७ हजार ३८० जना जनशक्ति खटाइने तयारी गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ हजार ९३० जना कर्मचारी, २ हजार ४१५ जना स्वयंसेवक तथा निर्वाचन अधिकृतको कार्यालयबाट ४५ जना कर्मचारी परिचालन हुनेछन्। जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले कार्यालयबाट थप आवश्यक कर्मचारी समेत खटाइने जानकारी दिएका छन्।

झापामा २८५ वटा मतदानस्थल र ८१५ वटा मतदान केन्द्र तोकिएका छन्। प्रत्येक मतदान केन्द्रमा ६ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलका अनुसार एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी खटाइने छन्।

यसका साथै तीन वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिएको छ। दमक नगरपालिका, झापा कारागार र कर्मचारी मिलन केन्द्र भद्रपुरमा अस्थायी मतदान केन्द्र रहने व्यवस्था गरिएको छ। ती केन्द्रहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी गरी तीन जनाका दरले जनशक्ति खटाइने जनाइएको छ।

मतदाता सचेतना बढाउन फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। फागुन १७ गतेसम्म चल्ने उक्त कार्यक्रममा १३१ वटै वडामा १३१ जना मतदाता शिक्षा स्वयंसेवक तथा १५ जना अनुगमनकर्ता परिचालन गरिएका छन्।

निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी गरी करिब ९ हजार सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन्। जिल्लामा शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायले विशेष योजना तयार पारेका छन्।

सम्बन्धित खबर