२०८२ फागुन ८ शुक्रवार , १०:३६:०२ बजे

Sajhamanch
'

एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीको नवौँ वार्षिकोत्सव सम्पन्न

शुक्रवार, फागुन ८, २०८२
बिर्तामोड । एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमी बिर्तामोडको नवौँ वार्षिकाेत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित आज सम्पन्न गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रियंका कटुवाल प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि डा. कटुवालसहित प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, बिर्तामोड नगरपालिकाका शिक्षा अधिकृत जानुका रेग्मी, योजना अधिकृत जय तिम्सिना, सामाजिक व्यक्तित्व किशोर प्रसाई, कपिल प्रसाई तथा न्यूटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई लगायतले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै शिक्षा सेवी तथा विद्यालयका संस्थापक स्वर्गीय हरि प्रसाईको तस्वीरमा माल्यार्पण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै स्थानीय शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएकाे बताए । कार्यक्रममा प्याब्सन बिर्तामोड नगर अध्यक्ष सुरेन्द्र खरेल लगायतको सहभागिता थियो ।
वार्षिकोत्सवका अवसरमा सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारीलाई अभिनन्दन गरिएको थियो ।
संस्थागत विद्यालयको विकासमा योगदान पुर्याएको भन्दै बालकल्याण अंग्रेजी स्कूल चारपानेका संस्थापक राम सिटौलालाई सम्मान गरिएको थियो । यस्तै असल अभिभावकका रूपमा व्यवसायी ओमप्रकाश श्रेष्ठ र डा. चाँदनी प्रधान सम्मानित भए ।

यसैगरी उत्कृष्ट शिक्षकको रूपमा तीर्थराज खतिवडालाई सम्मान गरिएको थियो । कार्यक्रममा एसईई २०८० मा उत्कृष्ट नतिजा ल्याउने निकिता तामाङ तथा २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने सिद्धान्त ढकाललाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कक्षा १० का विद्यार्थी सम्भव प्रसाईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लिला अनमोलले गरेकी थिइन् ।कार्यक्रममा सहभागी वक्ताहरूले शिक्षा सेवी स्वर्गीय हरि प्रसाईले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका थिए ।

यसैबीच विद्यालयका प्रिन्सिपल अनुप शर्माले संस्थाले स्थापना कालदेखि नै गुणस्तरीय, व्यवहारिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने लक्ष्यसहित अघि बढेको बताए ।

अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी र शुभेच्छुकहरूको निरन्तर सहयोग र विश्वासकै कारण विद्यालयले शैक्षिक यात्रामा उल्लेखनीय उपलब्धि हासिल गरेको उनको भनाई थियो ।

शर्माले विद्यालयले विद्यार्थीकेन्द्रित शिक्षण पद्धति, परियोजना कार्य, प्रस्तुति, समूहगत सिकाइ तथा आधुनिक मूल्याङ्कन प्रणालीलाई प्राथमिकतामा राख्दै कक्षा शिक्षणलाई जीवनसँग जोड्ने प्रयास गरिरहेको बताए ।

आन्तरिक तथा बाह्य मूल्याङ्कनमा विद्यार्थीको नतिजा प्रत्येक वर्ष सुधार हुँदै गएको जानकारी दिँदै उनले विस्तृत शैक्षिक प्रतिवेदन परीक्षा परिणामसँगै सार्वजनिक गरिने उल्लेख गरे ।

डे–स्कुल अवधारणाअनुसार बिहानदेखि बेलुकासम्म नियमित पठनपाठन सञ्चालन भइरहेको र सह–पाठ्यक्रम गतिविधि, खेलकुद, सांस्कृतिक कार्यक्रम सिर्जनात्मक अभ्यासमार्फत विद्यार्थीको अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास भएको उनले बताए ।

विद्यालयमा नर्सरीदेखि फोनिक्स कक्षा, कक्षा १ देखि ७ सम्म लेखन अभ्यास, कारखाना कक्षा, स्काउट तथा कोडिङ कक्षा सञ्चालन भइरहेको जानकारी उनले दिए। परीक्षा केन्द्रित मोटिभेसनल सेसन तथा प्रि–बोर्ड परीक्षा नियमित सञ्चालन गरिएको पनि उनले बताए ।
शिक्षक विकासलाई प्राथमिकता दिँदै तीन वटा क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरिएको तथा अभिभावक शिक्षा कार्यक्रममार्फत पोषण, स्वास्थ्य र अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे । आगामी वर्ष अभिभावक तालिमलाई थप विस्तार गरिने योजना रहेको उनले सुनाए ।

सम्बन्धित खबर