२०८२ फागुन ६ बुधवार , ०३:३२:१५ बजे

Sajhamanch
'

रुस र युक्रेनबीचको पहिलो दिनको शान्ति वार्ता सकियो : सहमति अनिश्चित

बुधवार, फागुन ६, २०८२

झापा । अमेरिकाको मध्यस्थतामा जेनेभामा शुरू भएको रुस र युक्रेनबीचको शान्ति वार्ताको पहिलो दिनको बैठक हिजो सम्पन्न भएको छ । तेस्रो चरणको त्रिपक्षीय वार्ताबाट ठोस उपलब्धि निस्कने सम्भावना कम रहेको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देशमार्फत दुवै पक्षले आक्रमण नगर्ने समझदारीतर्फ युक्रेन तयार रहेको बताउनुभएको छ । रुसका तर्फबाट राष्ट्रपति भ्लादिमिर पुटीनका सहयोगी भ्लादिमिर मेडिनिस्कीले वार्ता टोलीको नेतृत्व गरिरहनुभएको छ ।

रुसी सरकारी समाचार एजेन्सीका अनुसार झन्डै ६ घण्टा चलेको वार्ता तनावपूर्ण वातावरणमा द्विपक्षीय तथा त्रिपक्षीय ढाँचामा सम्पन्न भएको थियो ।

वार्ताको मध्यस्थता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विथकोफले गर्नुभएको हो । वार्ताभन्दा केही घण्टा अघि रुसले युक्रेनका १२ क्षेत्रमा ४०० ड्रोन र झन्डै ३० मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

ती आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ । अहिले रुसले युक्रेनको झन्डै २० प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ, जसमा पूर्वी डोनबास क्षेत्रका ठूलो भाग समावेश छन् ।

बाँकी भूभागसमेत हस्तान्तरण गर्नुपर्ने रुसी मागलाई युक्रेनले अस्वीकार गर्दै आएको छ । युक्रेनले भने कुनै पनि सम्झौताअघि पश्चिमी देशहरुबाट कडा सुरक्षा ग्यारेन्टी आवश्यक रहेको अडान राखेको छ ।

जेनेभामा चलिरहेको वार्ताबाट युद्ध अन्त्यतर्फ स्पष्ट मार्गचित्र निस्कने अपेक्षा गरिए पनि दुवै पक्ष आफ्ना अडानमा कायम रहेकाले तत्काल सहमति हुने सम्भावना कम देखिएको छ ।

सम्बन्धित खबर