२०८२ फागुन ६ बुधवार , ०१:४१:०२ बजे

Sajhamanch
'

टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत : स्कटल्याण्ड ७ विकेटले पराजित

बुधवार, फागुन ६, २०८२

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० भन्दा माथि रन बनाए ।

हिजो नेपालले जीतका लागि पाएको एक सय ७१ रनको लक्ष्य अन्तिम ओभरमा ४ बल अगाडि नै पूरा गर्यो । नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो ।

तेस्रो पटक विश्वकपमा सहभागिता जनाएको नेपालको विश्वकपमा कूल तेस्रो जीत पनि हो । सन् २०१४ मा बङ्गलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन ।

यो विश्वकपमा नेपाल इंग्ल्यान्डसँग ४ रन, इटालीसँग १० विकेट र वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । यी तीन खेल हारेर नेपाल यसअघि नै दोस्रो चरणको दौडबाट बाहिरिसकेको थियो । मुम्बईको वानखडे रंगशालामा आफ्नो अन्तिम खेलमा स्कटल्याण्डलाई हराउँदै नेपालले सान्त्वना जीत निकालेको हो ।

दीपेन्द्रले २३ बलमा अर्धशतक ५० रन बनाए । त्यसअघि ओपनर माइकल जोन्सको ७१ रनमा स्कटल्यान्डले नेपाललाई १७१ रनको लक्ष्य दिएको थियो । स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७० रन बनायो ।

जीतपछि नेपालका कप्तान रोहितकुमार पौडेलले यो टी–२० विश्वकपमा धेरै महत्त्वपूर्ण अनुभव बटुलेको र यसक्रममा विश्व क्रिकेटले नेपाललाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् ।

टी–२० विश्वकप क्रिकेटमा आज पनि ३ वटा खेल हुँदैछन् । आजको पहिलो खेल बिहान सवा ११ बजे समूह ‘डी’ का दक्षिण अफ्रिका र युएईबीच हुनेछ । यो खेल दिल्लीको अरुण जेट्ली स्टेडियममा हुनेछ ।

आजै दिउँसो सवा ३ बजे कोलम्बोमा समुह ‘ए’ का पाकिस्तान र नामिबियाले खेल्नेछन् भने बेलुका सवा ७ बजे भारत र नेदरल्याण्ड्सबीच खेल हुनेछ । यो खेल अहमदाबादमा हुनेछ ।

सम्बन्धित खबर