
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा ४० अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागकाअनुसार गएको साउनदेखि माघसम्म ५२४ वटा परियोजनामा यो लगानी प्रतिबद्धता आएको हो ।
क्षेत्रगत रूपमा हेर्दा कृषिका १४ वटा परियोजनामा सबैभन्दा धेरै २१ अर्ब ९० करोड, पर्यटनका १५० वटा परियोजनामा १० अर्ब ८६ करोड र उत्पादनमूलक ३५ वटा परियोजनामा २ अर्ब ४० करोड लगानी प्रतिबद्धता आएको छ । त्यस्तै सूचना प्रविधिमूलक २८८ वटा परियोजनामा १ अर्ब २५ करोड लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ ।
माघसम्मको अवधिमा अटोमेटिक रुटबाट ३ अर्ब २५ करोड र अप्रुभल रुटबाट ३७ अर्ब ३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा साढे १३ अर्ब रुपैयाँले धेरै हो ।
गएको आर्थिक वर्षको माघसम्म २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबर त्यस्तो लगानी स्वीकृत भएको थियो ।


