२०८२ फागुन १ शुक्रवार , ०८:४७:५७ बजे

Sajhamanch
'

उम्मेदवारलाई प्रश्न : मतदाता जागेको संकेत

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । चुनाव नजिकिँदै जाँदा नेता र उम्मेदवारहरु मतदातासम्म पुगिरहेका छन् । नेताहरू विकासका योजना र भावी सपना सुनाइरहेका छन् । गाउँ–बस्तीमा पुगेका उम्मेदवारले यसपटक मतदाताको प्रश्नको सामना गर्नुपरेको छ ।

पहिले पहिले चुनाव नजिकिंदै गरेको योबेला गाउँठाउँको दृश्य लगभग उस्तै हुन्थ्यो । उम्मेदवार आउँथे, हात जोड्थे, दुई–चार आश्वासन दिन्थे, चिया पिउँथे र फर्कन्थे । मतदाताले प्रायः उम्मेदवारका कुरा सुन्थे, मुस्कुराउँथे र अन्त्यमा भोट दिन्थे । प्रश्न कम हुन्थे । ‘हेरौँला’ भन्ने मनस्थिति बढी हुन्थ्यो ।

तर अहिले दृश्य बदलिँदै छ । पुराना र नयाँ सबैजसो उम्मेदवारलाई मतदाताले प्रश्न गर्न थालेका छन् । उम्मेदवार गाउँ पुग्दा केवल भोटको कुरा मात्रै होइन, जवाफको कुरा पनि हुने गरेको छ ।

यसअघि पटकपटक चुनाव जितेकाहरुलाई मतदाताले सोध्न थालेका छन् – ‘अहिलेसम्म के गर्नुभयो ?’, ‘यो किन हुन सकेन ?’, ‘अब फेरि जितेपछि ठ्याक्कै के गर्नुहुन्छ ?’, ‘हामीलाई रोजगारी कहिले दिनुहुन्छ ?’, ‘सडक, पानी, स्वास्थ्य चौकीको अवस्था किन उस्तै छ ?’

नयाँ उम्मेदवारलाई पनि मतदाताले सोधिरहेका छन्–‘तपाईंको उम्मेदवारी किन ?’, ‘तपाईंको नीति के हो र जितेपछि के गर्नुहुन्छ ?’

यो परिवर्तन सानो होइन । यो मतदाता जागेको संकेत हो । लोकतन्त्रमा भोट खसाल्नु मात्रै कर्तव्य होइन, प्रश्न गर्नु पनि कर्तव्य हो । भोट दिनुअघि सोधिएको प्रश्नले नै भोलिको शासनको दिशा तय गर्छ ।

सबै ठाउँका मतदाताले उम्मेदवारलाई सोध्नुपर्छ–तपाईंको पाँच वर्षको स्पष्ट योजना के हो ? सुशासन, विकास र रोजगारीको लागि तपाईंको प्रष्ट नीति के हो ? बजेट कसरी ल्याउनुहुन्छ र कसरी खर्च गर्नुहुन्छ ? तपाईं जितेर गएपछि पनि फेरि यसैगरी हामीलाई भेट्न आउनुहुन्छ ?

यी प्रश्न व्यक्तिगत आक्रमण होइनन् । यी जवाफदेहिताका आधार हुन् । यस्ता प्रश्नका उत्तरले मात्र उम्मेदवारको चरित्र देखिन्छ ।

पहिले चुनाव भावनामा बग्थ्यो । पार्टी, झण्डा, नारामा सीमित हुन्थ्यो । अहिले बिस्तारै विषयमा केन्द्रित हुन थालेको छ । यो राम्रो संकेत हो ।

हामीले अब नेता र उम्मेदवारका भाषण सुनेर ताली बजाउने मात्रै होइन, भाषणपछि प्रश्न गर्ने बानी बसाल्नुपर्छ ।

उम्मेदवार गाउँमा आउँदा स्वागत गरौँ । सँगै प्रश्न सोधौँ पनि ।

मिठो बोली सुनेर मात्र निर्णय नगरौँ । कामको हिसाब मागौँ ।

हाम्रो गाउँमा विद्यालय किन कमजोर छ ? स्वास्थ्य सेवा किन अपुग छ ? किसानले मल र बजार किन पाउँदैन ? युवाले सीप र रोजगारी किन पाउँदैन ?

यी प्रश्न उठेनन् भने चुनाव केवल औपचारिकतामा सीमित हुन्छ । यी प्रश्न उठे भने चुनाव अर्थपूर्ण हुन्छ ।

हामीले बुझ्नुपर्छ —नेता हाम्रा सेवक हुन्, मालिक होइनन् । भोट माग्न आउनेले हाम्रो ढोका ढकढक्याएको हो । ढोका खोलेपछि हामीले सोध्न पाउनु स्वाभाविक हो ।

प्रश्न गर्दा कसैको समर्थक वा विरोधी बनिँदैन । बरु प्रश्न नगर्ने बानीले नै कमजोर नेतृत्व जन्माउँछ । अब हरेक गाउँ, हरेक टोलमा एउटै संस्कार बसालौँ—भोट दिनुअघि प्रश्न गरौँ ।

जसले स्पष्ट योजना दिन्छ, समयसीमा दिन्छ, जिम्मेवारी लिन तयार हुन्छ—त्यसैलाई साथ दिऔँ । जसले गोलमटोल कुरा गर्छ, विषय घुमाउँछ, दोष अरूलाई थोपर्छ—त्यसलाई फेरि सोचौँ । जागेको मतदाता नै लोकतन्त्रको बलियो आधार हो ।

सम्बन्धित खबर