२०८२ फागुन १ शुक्रवार , ०३:२५:५३ बजे

Sajhamanch
'

भोक हड्ताल नगर्न भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायत सरकारको आग्रह

शुक्रवार, फागुन १, २०८२

काठमाडौं । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल नगर्न आग्रह गरेको छ । माग सम्बोधन गर्नेबारे छलफल चलिरहेको भन्दै त्यहाँको सरकारले यस्तो आग्रह गरेको हो ।

ब्रिटिश गोर्खा संयुक्त संघर्ष समिति यूके–नेपालले बेलायत सरकारलाई माग सम्बोधन नगरे आन्दोलन र भोक हड्ताल गर्ने चेतावनीसहित यसअघि पठाएको अल्टिमेटम सहितको पत्रको जवाफमा त्यहाँको रक्षा मन्त्रालयले प्रतिउत्तर पठाउँदै यस्तो प्रतिक्रिया जनाएको हो ।

गोर्खाहरूको सेवा र बलिदानप्रति उच्च सम्मान व्यक्त गर्दै मागहरू कानुनी तथा प्रशासनिक जटिलतासँग जोडिएकाले जिम्मेवारीपूर्वक अध्ययन भइरहेको र लन्डनमा रहेको नेपाली दूतावाससँग समन्वय गरी थप वार्ता अघि बढाइने बेलायत सरकारको भनाइ छ ।

गोर्खा सैनिकहरुले सन् १९४७ को त्रिपक्षीय सम्झौताको मर्मअनुसार पेन्सन लगायतमा पूर्ण समानता हुन नसकेको भन्दै न्यायपूर्ण समाधानको माग गर्दै आएका छन् । अहिले नेपाल–बेलायतबीचको त्रिपक्षीय वार्ता मुख्यतः पेन्सनकै विषयमा केन्द्रित छ भने बेलायत सरकारले समाधान खोज्ने आश्वासन र संकेत देखाएको छ ।

सम्बन्धित खबर