
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटमा इरानसँगको आणविक वार्तालाई निरन्तरता दिन आफूले जोड दिएको बताउनुभएको छ । यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले आणविक सम्झौता नभए इरानविरुद्ध कारबाही गर्नसक्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
मध्यपूर्वमा बढ्दो तनाव र इरानको आणविक हतियार कार्यक्रमलाई सीमित गर्न वार्ता तीव्र पारिएको बेला हिजो ह्वाइट हाउसमा दुई नेताबीच भेटवार्ता भएको थियो ।
नेतान्याहूले ट्रम्पलाई इरानको युरेनियम संवर्द्धन रोक्ने मात्र नभई ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम र हमास र हिजबुल्लाहजस्ता विद्रोही समूहहरूलाई समर्थन गर्ने सम्झौतालाई अगाडि बढाउन दबाव दिने अपेक्षा थियो ।
इरानले प्रतिबन्ध राहतको बदलामा आफ्नो आणविक कार्यक्रम सीमित गर्न इच्छुक रहेको सङ्केत गरेको तर अन्य मागहरूलाई अस्वीकार गरेको खबरमा उल्लेख छ ।
ह्वाइट हाउसको बैठकअघि इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देश अत्यधिक मागहरूसामु नझुक्ने चेतावनी दिनुभएको थियो ।
यसैबीच नेतान्याहूको कार्यालयले दुई नेताहरूले इजरायलको सुरक्षा आवश्यकताबारे छलफल गरेको र निकट समन्वय र संलग्नता जारी राख्न सहमत भएको बताएको छ ।


