
गौरादह । नेकपा एमाले दुवोजस्तो पार्टी भएकाले कहिल्यै ननासिने झापाको गौरादहका बासिन्दाले बताएका छन्।
झापा क्षेत्र ५ अन्तर्गत पर्ने गौरादहका मतदाताहरुसँग भेट गर्न पुग्नुभएका अध्यक्ष केपी शर्मा ओलीलाई मतदाताहरुले एमाले दुवोजस्तै ननासिने र नमासिने पार्टी भएकाले कहिल्यै पनि कसैको डाहाले कमजोर नहुने जिकिर गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष चारआली चोकमा पुग्दा एमालेको जराको रुपमा आम मतदाता रहेकाले ढुक्क हुनसमेत अध्यक्ष ओलीलाई उनीहरुले आग्रह गरे।
झापा क्षेत्र नं. ५ का लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेद्वार रहनुभएका केपी ओली आज गौरादहका विभिन्न टोल र गाउँमा केन्द्रित हुनुभएको थियो ।

डिट्ठाचोक, हाँसखोरा, मादलडाँडा, ग्वालडु्व्वा, पुरानो ग्वालडुव्वा, बैराती, जामबाडी, ठकठके, जुरोपानी लगायतका बासिन्दासँग अध्यक्ष ओलीले भेट गर्नु भएको हो । विगत चार दिनदेखि अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रका विभिन्न बस्तिमा पुगिरहनु भएको छ।


