
कमल । निर्वाचन क्षेत्र नं. ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं. ६ को खयरबारी बस्तिका बासिन्दाले चुनावी अभियानमा मतदातासँग भेट गर्न जाँदा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग जग्गाको धनिपूर्जा मागेका छन् ।
रतुवा खोलाको पूर्वी किनारामा रहेको उक्त बस्तिका बासिन्दालाई अघिल्लो दशकसम्म वर्षेनी रतुवा कटानबाट बस्ति जोगाउन सकस थियो । तर त्यहाँ दर्विलो गरी तटबन्धन गरिए पछि उक्त समस्याको अन्त्य भएपछि अब लालपूर्जाको माग भएको हो ।
उक्त बस्तिमा आइतबार पुग्नु भएका एमाले क्षेत्र नं. ५ का उम्मेदवार, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष बासिन्दाले यस्तो माग गरेका हुन् ।
त्यहाँ पुग्दा ओलीले समेत विगतमा रतुवा खोलाले दिएको दुःखको स्मरण गर्नुभयो । बस्ति बगाउँदै गर्दा गाउँसम्म पुग्ने सडक पनि थिएन । तर अहिले न सडकको दुःख छ न, खोलाको हैरानी । अध्यक्ष ओलीलाई यो सुविधा विस्तारका लागि धन्यवाद पनि दिए र अर्को अपेक्षा सुनाए, ‘खोला बाँधियो, बाटो आयो अब चाँहि धनीपुर्जा चाहियो ।’
स्थानीयबासीहरुले अझै पनि केही परिवार भुमिहिन रहेको र केही स्थानमा अव्यवस्थित बसोबासको समस्या रहेकाले भुमिसम्बन्धी समस्या समाधान गरीदिन आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले विगतमा समेत एमाले नेतृत्वकै सरकारले भुमि सम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेर काम थाले पछि अर्को सरकार आएर आयोगनै खारेज गरिदिने गरेकाले समस्या समाधान हुन नसकेको बताउनु भएको थियो ।


