
झापा । जापानमा आज मतदान भैरहेको छ । तल्लो सदनको ४६५ सदस्यका लागि आज बिहानदेखि मतदान शुरु भएको र बेलुका ८ बजेसम्म चल्नेछ ।
जापानको निर्वाचन आयोगका अनुसार त्यहाँ साढे १० करोडभन्दा धेरै मतदाता छन् । २८९ प्रत्यक्ष र १७६ समानुपातिक गरी कुल ४६५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ ।
यो चुनावबाट प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमाथि जनमत परीक्षण हुनेछ । ताकाइचीको पार्टी लिबरल डेमोक्र्याटिक (एलडिपी)को तल्लो सदनमा यसअघि १९८ सांसद थिए । ४६५ सदस्यीय प्रतिनिधि सभा (तल्लो सदन) मा बहुमतका लागि २३३ सांसद आवश्यक हुन्छ ।
एलडीपी एक्लैको बहुमत नभएका कारण ताकाइची गठबन्धन सरकारको प्रधानमन्त्री हुनुहुन्थ्यो । गठबन्धनमा साझेदार जापान इनोभेसन पार्टी (इशिन) रहेको थियो । गठबन्धनमा काम गर्न सहज नभएको भनेर उहाँले हालै संसद विघटन गरेर चुनाव घोषणा गर्नुभएको थियो ।
अहिले विपक्षी ठूलो दल सेन्ट्रिस्ट रिफर्म एलायन्स छ । चिसो र हिमपातकाबीच ३६ वर्षपछि पहिलो पटक जाडो मौसममा जापानमा चुनाव भएको हो । मतदान सकिएलगत्तै प्रारम्भिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
यसअघि २ करोड ७ लाख ९६ हजारभन्दा धेरै मतदाताले अग्रिम मतदान गरेका छन् । चुनावी नतिजाले जापानको आउँदो आर्थिक नीति र आप्रवासन सुरक्षाको दिशा तय गर्ने विश्वास गरिएको बीबीसीले जनाएको छ ।


