
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच करिब २ घण्टा वार्ता भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहीबार बिहान प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुग्नु भएको थियो ।
ओली निकट स्रोतका अनुसार, उहाँ बिहान करिब ९ बजेपछि बालुवाटार पुग्नु भएको थियो । बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग उहाँले करिब २ घण्टा समसामयिक राजनीति र निर्वाचनबारे छलफल गरेर फर्किएका हुन् ।
‘अध्यक्ष ओली बालुवाटार जानुभएको हो । उहाँले प्रधानमन्त्रीसँग करिब २ घण्टा छलफल गरेर फर्किसक्नुभएको छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।
छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष रुपमा गर्नेबारे छलफल भएको जनाइएको छ । साथै, एकै चरणमा निर्वाचन गर्नुपर्नेगरी अघि बढ्न ओलीले सरकारलाई सुझाव दिनु भएको थियो ।
प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एकै चरणमा छलफल गर्ने बुझाइ रहेको दुवै पक्षका निकस्थहरूको भनाइ छ ।


