२०८२ माघ २२ बिहिवार , ०५:११:०२ बजे

Sajhamanch
'

प्रेस चौतारीको स्थापना दिवस- सूचना र प्रविधिलाई समाजवादतर्फ रूपान्तरणको साधन बनाउनुपर्नेमा जोड

बिहिवार, माघ २२, २०८२

काठमाडौं । श्रमजीवी पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालले आफ्नो २८ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ।

स्थापना दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी पत्रकार, शुभेच्छुक र शुभचिन्तकप्रति शुभकामना व्यक्त गर्दै सङ्गठनले प्रेस स्वतन्त्रता, लोकतन्त्र र जनमुखी सञ्चारप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

स्थापना दिवसको अवसरमा संगठनका महासचिव हीरामान लामाद्वारा जारी शुभकामना सन्देशमा प्रेस चौतारी नेपालले लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको सङ्घर्षमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। सत्य, न्याय र जनताको पक्षमा कलम चलाउँदै जीवन समर्पण गर्ने अमर शहीदहरूको बलिदान पत्रकारिताको प्रेरणाको मूल स्रोत भएको सन्देशमा उल्लेख गरिएको छ।

सन्देशमा प्रेस चौतारी नेपाललाई आजको अवस्थामा पुर्‍याउन योगदान दिने अग्रज पत्रकारहरूप्रति विशेष सम्मान व्यक्त गरिएको छ। संस्थापक अध्यक्ष स्वर्गीय विजय चालिसे र स्वर्गीय अग्नि शिखालगायत सम्पूर्ण अग्रजहरूको योगदानलाई स्मरण गर्दै अग्रजहरूको मार्गदर्शन र पत्रकारहरूको समर्पणकै कारण सङ्गठन सशक्त र विश्वसनीय बनेको उल्लेख गरिएको छ।

प्रेस चौतारी नेपालले विगतका वर्षहरूमा श्रमजीवी पत्रकारहरूको हक–अधिकारका लागि संघर्ष, निरंकुशताविरुद्ध आन्दोलन, आमसञ्चार नीति निर्माण, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन तथा सामाजिक चेतना फैलाउने अभियानलाई निरन्तर अघि बढाउँदै आएको सन्देशमा जनाइएको छ। यद्यपि, पछिल्लो समय नेपाली सञ्चार जगतमा तथ्यभन्दा भ्रम, निष्पक्षताभन्दा प्रचारबाजी र सूचना प्रवाहभन्दा व्यापार हावी हुँदै गएको अवस्था चिन्ताजनक बनेको पनि औँल्याइएको छ।

सन्देशमा दलाल पूँजीवादले सञ्चार तथा सूचना–प्रविधिको दुरुपयोग गर्दै राष्ट्रिय पूँजी र स्वाधीनताविरुद्ध भ्रामक धारणा फैलाइरहेको उल्लेख गर्दै त्यसविरुद्ध स्पष्ट वैचारिक संघर्ष आवश्यक रहेको जनाइएको छ। सञ्चार, सूचना र विज्ञान–प्रविधि पूँजीको मुनाफाका लागि होइन, जनताको सेवामा समर्पित हुनुपर्ने प्रेस चौतारी नेपालको स्पष्ट धारणा रहेको महासचिव लामाले जारी गर्नु भएकाे विज्ञप्तिमा उल्लेख छ । डिजिटल युगका चुनौतीलाई मध्यनजर गर्दै सङ्गठनलाई प्रविधिमैत्री बनाउने, डिजिटल संरचना सुदृढ गर्ने, दक्ष जनशक्ति विकास गर्ने र आधुनिक सञ्चार संयन्त्र विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको सन्देशमा उल्लेख छ। साथै, डाटा सुरक्षा, डिजिटल अर्थतन्त्रको न्यायोचित विकास र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नीतिगत सतर्कता अपरिहार्य रहेकोमा जोड दिइएको छ।

सन्देशमा सञ्चार तथा सूचना–प्रविधिको जिम्मेवार प्रयोगले लोकतन्त्रलाई बलियो बनाउने र यसको दुरुपयोगले अधिनायकवाद तथा साम्राज्यवादलाई सहयोग पुर्‍याउने खतरा रहेको चेतावनी पनि दिइएको छ। यही द्वन्द्वको बीचमा प्रेस चौतारी नेपाल वैज्ञानिक, प्रगतिशील, वैचारिक र जनमुखी मार्गमा अडिग रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

डाटा साम्राज्यवादको चुनौती र सामाजिक रूपान्तरणको अवसर दुवै बोकेको वर्तमान युगमा निष्क्रिय रहन नसकिने उल्लेख गर्दै मिडिया, सूचना र प्रविधिलाई समाजवादतर्फको रूपान्तरणको साधन बनाउने ऐतिहासिक दायित्व रहेको सन्देशमा जनाइएको छ। नयाँ पुस्तासँग संवाद, जनचेतना अभिवृद्धि र राष्ट्रलाई आत्मनिर्भर तथा सञ्चारमैत्री समाजतर्फ अघि बढाउनु आजको आवश्यकता भएको ठहर गरिएको छ।

सम्बन्धित खबर