२०८२ माघ २२ बिहिवार , ०४:४७:०९ बजे

Sajhamanch
'

इजरायली आक्रमणमा परि गाजामा २१ जना प्यालेस्टिनीको ज्यान गयो

बिहिवार, माघ २२, २०८२

झापा । इजरायली आक्रमणमा परि गाजामा २१ जना प्यालेस्टिनीको ज्यान गएको छ । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलका अनुसार इजरायली सेनाले हिजो बिहानैदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा व्यापक आक्रमण शुरू गरेको थियो ।

खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको एउटा पालमा इजरायली ड्रोनले प्रहार गर्दा २ महिला र १ प्यारामेडिकसहित तीन जनाको घटनास्थलमै ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

त्यसैगरी गाजा शहरको पूर्वी भेगमा पर्ने जैतुन र तुफाह क्षेत्रको बाहिरी इलाकामा गरिएको तोपबारीमा तीन बालबालिका र पाँच महिलासहित १४ जनाको ज्यान गएको छ ।

आक्रमणमा कैयौँ मानिस घाइते भएका छन् । यसअघि खान युनिसको दक्षिणमा पर्ने किजान रशवान क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको थियो । हमासले इजरायली सैन्य कारबाहीलाई युद्धविराम सम्झौता र विद्यमान समझदारीको घोर उल्लंघनको रूपमा व्याख्या गरेको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार सन् २०२५ अक्टोबर १० मा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा परि ५५६ प्यालेस्टिनीको ज्यान गईसकेको छ भने १ हजार ५०० भन्दा बढी मानिस घाइते भएका छन् ।