
काठमाडौं । चुनाव नजिकिँदै गर्दा राजनीतिक दल तथा उम्मेदवारको डिजिटल प्रचार सामाजिक सञ्जालमा आक्रामक बनेको छ ।
डिजिटल मार्केटिङ एजेन्सीहरूले उम्मेदवारका लागि सामाजिक सञ्जाल प्रचार, प्रतिस्पर्धीको गतिविधि निगरानी र मतदाता प्रतिक्रिया व्यवस्थापन गर्ने सेवा दिइरहेका छन् । दल तथा उम्मेदवारहरूले त्यस्ता एजेन्सीको समेत सहयोग लिँदै फेसबुक, इन्स्टाग्राम र टिकटकमा चुनावको प्रचार बढाएका हुन् ।
विज्ञापन बुस्टिङका लागि १७० देखि २०० अमेरिकी डलरसम्म विनिमय शुल्क र २० प्रतिशतसम्म सेवा शुल्क लाग्छ । निर्वाचन आयोगले भूगोलअनुसार उम्मेदवारले २५ देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ ।
डिजिटल माध्यममा गरिने खर्चलाई पनि यही सीमामा जोडिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले ई–मनिटर प्लस सफ्टवेयरमार्फत सामाजिक सञ्जालमा भइरहेका विज्ञापन र चुनावी गतिविधिको नियमित अनुगमन गरिरहेको उहाँको भनाइ छ ।
उम्मेदवारले नक्कली लाइक र कमेन्ट बढाएर कृत्रिम लोकप्रियता देखाउनुलाई आयोगले आचारसंहिता उल्लङ्घनका रूपमा लिनेछ । डिजिटल प्रचारसँग सम्बन्धित उजुरी आउन थालिसकेको र त्यसबारे तथ्य जाँच गरी आवश्यक कारबाही गरिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।


