२०८२ माघ २१ बुधवार , ०२:४९:४८ बजे

Sajhamanch
'

सेनाद्वारा निर्वाचन ड्युटी सुरु : विमानस्थल, कारागारदेखि सडक गस्तीका लागि ७९ हजार तैनाथ

बुधवार, माघ २१, २०८२

काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर ७९ हजार सैनिक जनशक्ति निर्वाचन सुरक्षाका निम्ति परिचालित भएको छ ।

त्यसअन्तर्गत आजैदेखि देशभरिका विमानस्थल तथा कारागार कार्यालयको सुरक्षा व्यवस्थापन सेनाले गर्ने भएको छ । त्यहाँ नियमित रुपमा तैनाथ हुने नेपाल प्रहरी र सशस्त्रका विशेष किसिमका ड्युटी जारी रहने र बाँकी सबै सुरक्षा व्यवस्थापन सेनाले गर्ने उहाँले बताउनु भयो ।

देशभरिका प्रमुख सडकमा सेनाले आजैबाट गस्ती शुरु गरेको छ । प्रवक्ता बस्नेतका अनुसार विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरेर पैदल गस्ती शुरु गरिएको हो ।

मतदान केन्द्र र गणनास्थलको सुरक्षाका लागि केही समयपछि मात्रै सेना परिचालित हुने उनले बताए । ती स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी क्रमशः पहिलो र दोस्रो घेरामा तैनाथ हुन्छन् । त्यसपछि मात्रै सेनाले सुरक्षा भूमिका निर्वाह गर्दछ ।

मंसिर ८ गते मन्त्रिपरिषद् बैठकले निर्वाचनलक्षित सुरक्षार्थ सेना परिचालनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । निर्णयलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि सेना परिचालन गरिएको प्रवक्ता बस्नेतले बताउनु भयो।

सम्बन्धित खबर