
काठमाडौं । नेपालमा प्रमुख सिमसार तथा खोलानाला र पोखरीहरूमा जलपक्षीको सङ्ख्या घटेको पाइएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व र नेपाल पक्षीविद् सङ्घको संयोजनमा भएको जलपक्षी गणना अनुसार चराको सङ्ख्या घटेको पाइएको हो ।
हिजो सार्वजनिक विवरण अनुसार यस वर्ष १८ प्रमुख सिमसार क्षेत्र र त्यस अन्तर्गतका ७८ वटा साना क्षेत्रमा गरेको गणनामा ८९ प्रजातिका ९० हजार ६८८ वटा चरा भेटिएका छन् । गएको वर्ष ७८ वटा सिमसार, खोलानाला र पोखरीमा गरेको गणनामा ९४ प्रजातिका ९६ हजार ५६५ वटा चरा भेटिएका थिए ।
गएको वर्ष ६७ प्रजातिका १० हजार १८५ वटा चरा भेटिएको कोशीटप्पु वन्यजन्तु आरक्ष र आसपासको क्षेत्रमा यस वर्ष ५६ प्रजातिका ५ हजार ८९० वटा मात्र चरा भेटिएका छन् । चरा पाइने अर्को मुख्य क्षेत्र जगदीशपुर जलाशयमा पनि प्रजाति र सङ्ख्या दुवै घटेको छ ।
जगदीशपुरमा गएको वर्ष ४८ प्रजातिका १२ हजार ८३२ वटा चरा भेटिएकोमा यस वर्ष ४१ प्रजातिका १० हजार २८२ वटा मात्र चरा भेटिएका छन् । काठमाण्डौ उपत्यकाको मनोहरा फाँटमा भने यस वर्ष चराको प्रजाति र सङ्ख्या दुवै बढेको छ ।
मनोहरा फाँटमा गएको वर्ष ११ प्रजातिका २८२ वटा चरा भेटिएकोमा यस वर्ष १४ प्रजातिका ३७९ वटा चरा भेटिएका छन् । १८ प्रमुख सिमसार क्षेत्रमध्ये नौ वटामा सङ्ख्या बढ्दा नौ वटामा घटेको पाइएको नेपाल पक्षीविद् सङ्घले जनाएको छ । हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारदेखि चरा गणना गरिन्छ ।



