२०८२ माघ २० मङ्गलवार , ०६:३६:३१ बजे

Sajhamanch
'

घानाले अफ्रिकी मूलका मानिसहरूलाई नागरिकता दिने प्रक्रिया स्थगित गर्‍यो

मङ्गलवार, माघ २०, २०८२

झापा । घानाले अफ्रिकी मूलका मानिसहरूलाई नागरिकता दिने प्रक्रिया स्थगित गरेको छ । घानाले प्रणालीलाई अझ सुलभ र प्रयोगकर्तामैत्री बनाउन अफ्रिकी डायस्पोराका सदस्यहरूका लागि नागरिकता आवेदनहरू रोकेको बीबीसीले जनाएको छ ।

सन् २०१६ देखि आफ्ना पुर्खाहरू अफ्रिकाबाट आएको प्रमाणित गर्न सक्नेहरूले घानाको राष्ट्रियता प्राप्त गर्न सक्छन् । पछिल्ला वर्षहरूमा अफ्रिकी अमेरिकी गायक–गीतकार स्टीभी वन्डरसहित एक हजार जनाभन्दा धेरैले घानाको नागरिकता प्राप्त गरेका छन् ।

यद्यपि केही आवेदकहरूले नागरिकता प्राप्तिका लागि पूरा गर्नुपर्ने चरणहरूको सङ्ख्याका साथै उच्च लागतको बारेमा गुनासो गरेका छन् ।

घानामा मानिसहरूलाई स्थानान्तरण गर्न मद्दत गर्ने डायस्पोरा अफ्रिकी फोरमकी राजदूत डा. एरिका बेनेटका अनुसार धेरै आवेदकहरूले आवेदन दिएको एक हप्ताभित्र डीएनए प्रमाण पेश गर्नुपर्ने प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्, धेरैजसोले यो समयसीमा कम भएको र केहीले डीएनए परीक्षणको विश्वसनीयतामाथि पनि प्रश्न उठाएका छन् ।

यस्तै आवेदन शुल्क १३६ अमेरिकी डलर र छनोट सूचीमा परेकाहरूले थप १ हजार ७०० डलर तिर्नुपर्ने प्रावधानका कारण धेरैले लागत रकमलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

बेनेटले समस्याहरू समाधान हुने र आवेदन प्रक्रिया पुनः शुरू हुने विश्वास व्यक्त गर्नुभएको खबरमा उल्लेख छ ।

बेनिन र सियरा लियोनजस्ता देशहरूले पनि प्रमाणित पुर्खा सम्बन्धका आधारमा अफ्रिकी मूलका मानिसहरूलाई नागरिकता प्रदान गर्छन् ।

सम्बन्धित खबर