२०८२ माघ २० मङ्गलवार , ०८:२९:१० बजे

Sajhamanch
'

फागुन २१ ‘महानिर्वाचन’ : एक दिनको मतदान होइन, पुस्तागत निर्णय गर्ने शुभसाइत

मङ्गलवार, माघ २०, २०८२

काठमाडौं । फागुन २१ गतेको चुनाव आउन अब एक महिना मात्रै बाँकी छ । यो चुनाव केवल मतपेटिकामा मत खसाल्ने औपचारिक प्रक्रिया मात्र होइन, दशकौँदेखिको आक्रोश, निराशा र परिवर्तनको आकांक्षाको सामूहिक अभिव्यक्ति हो । त्यसैले यो चुनावलाई निर्वाचन मात्रै होइन, महानिर्वाचन मान्नुुपर्छ ।

पहिलो कुरा, यो पाँच वर्षमा आउने नियमित आमचुनाव या दलहरुको हानथापले उब्जाएको मध्यावधी चुनाव होइन । नवयुवाको भदौरे विद्रोहले जन्माएको विशेष चुनाव हो । सडक, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा देखिएको नवयुवाको असन्तोषले दलहरूलाई विस्थापितै गरेको थियो । यसरी विस्थापित शक्ति प्रायः इतिहासबाट हराउँछन् । तर यो चुनावले बुढा नेता र पुराना दललाई नागरिकमा जाने अवसर दिएको छ । रोजगारीको अभाव, भ्रष्टाचारको दैनिकी, सेवाप्रवाहको लाचारी र भविष्यप्रतिको अनिश्चितताले नवयुवालाई मौन दर्शकबाट सचेत निर्णायक बनाएपछि हुन लागेको चुनाव हो यो । भदौको विद्रोहलाई संस्थागत गर्न भइरहेको फागुन २१ को चुनाव गणतन्त्रपछि दलहरुले आफूलाई परीक्षण गर्ने ऐतिहासिक अवसर हुन पुगेको छ । यही विशेषताले फागुन २१ को चुनावलाई असाधारण र विशेष बनाएको हो । त्यही कारण यो चुनाव महानिर्वाचन हुन पुगेको छ ।

यो चुनाव सुशासन, विकास र समृद्धिका नारालाई नारामा मात्र सीमित राख्ने कि व्यवहारमा उतार्ने भन्ने कठोर परीक्षा पनि हो । विगतमा धेरै चुनाव भए, थरीथरीका सरकार बने, भाषण भए — तर सुशासन नागरिकको अनुभूति बन्न सकेन । विकासका योजना बजेटको शीर्षकमा सीमित रहे, समृद्धि भाषणमा मात्रै चम्किए । फागुन २१ ले अब स्पष्ट निर्णय दिन्छ : नागरिकले काम देख्ने नेतृत्व चाहेका छन् कि पुरानै आश्वासनको पुनरावृत्ति ?

नवयुवाको विद्रोहपछि पुराना दलहरूले आफूहरू पाखा परेको गुनासो गर्दै आएका छन् । देश संविधानको ट्रयाकबाट बाहिर गएको उनीहरूको तर्क छ । यदि साँच्चै त्यस्तो हो भने सही ट्रयाकमा फर्काउने अवसर यही चुनाव हो । जनमतमार्फत संविधान, व्यवस्था र नेतृत्वलाई पुनः परीक्षण गर्ने यो क्षण सामान्य निर्वाचन मात्रै होइन ।

अर्को महत्त्वपूर्ण पक्ष, यो चुनावमा दलहरू एक्ला–एक्लै मैदानमा छन् । पहिलेजस्तो अङ्कगणित मिलाउन बनेका गठबन्धन छैनन् । यो चुनावले सबै दलहरुको वास्तविक हैसियत, जनआधार र विश्वासको स्तर मापन गर्छ । ‘को कति बलियो छ’ भन्ने कुरा गफले होइन, मतले निर्धारण गर्छ ।

चुनाव प्रचारको सिलसिलामा नयाँ र पुरानादलहरुबीच आरोप–प्रत्यारोप हुनु स्वभाविक हो । पुराना दलहरु नयाँलाई देखाएर भन्छन् : यिनीहरुलाई शासन चलाउन आउँदैन, अनुभव छैन, राज्य बुझ्दैनन् । नयाँ दलहरु पुरानातिर औँला ठड्याउँछन् : देश बिग्रनुमा यिनीहरु सबै जिम्मेवार छन्, भ्रष्टाचार र कुशासनको जरो यहीँ छ । तर अबको चुनावले देखाउनेछ– कोसँग केवल भाषणको अनुभव छ र कोसँग काम गर्ने क्षमता ? को परिवर्तनको नाम बेच्दैछ र को साँच्चै परिवर्तन गर्न तयार छ ? चुनावको नतिजाले एउटा उत्तर स्पष्ट दिनेछ–पुरानामध्ये को अझै भरोसायोग्य छन् र को इतिहासमै सीमित हुनेछन् । अनि नयाँमध्ये को सम्भावनाको प्रतीक हुन् र को केवल आक्रोशको आवाज मात्रै ।

यो चुनाव नेतृत्वको चरित्र परीक्षण पनि हो । फोटो खिच्न गोठ पुग्नु, खुट्टा ढोग्नु वा हात जोड्नु पर्याप्त छैन । नागरिकले एजेन्डा सोधिरहेका छन्, जवाफ खोजिरहेका छन् । फागुन २१ कोे चुनावले देखाउनेछ– को साँच्चैको नेता हो र को अभिनय गर्ने अभिनेता ।

नागरिक चेतनाको स्तर मापन गर्ने महान अवसर पनि यही चुनाव हो । भोट भावनामा खस्छ कि विवेकमा ? चिन्हमा कि चरित्रमा ? फागुन २१ मा खस्ने भोटले सत्ता मात्रै होइन, देशको दिशा तय गर्नेछ । यो एक दिनको मतदान मात्रै होइन, पुस्तागत निर्णय गर्ने शुभसाइत हो । निर्वाचन मात्रै होइन, महानिर्वाचन हो !

सम्बन्धित खबर