२०८२ माघ १६ शुक्रवार , ११:०७:३४ बजे

Sajhamanch
'

पत्रकार राम निरौला ५१ हजार पुरस्कारसहित सम्मानित

शुक्रवार, माघ १६, २०८२

कनकाई । झापाको कनकाई नगरलाई कर्मथलो बनाएर सक्रिय पत्रकारिता गर्दै आएका रामप्रसाद निरौला सम्मानित भएका छन् ।

कनकाई ६ स्थित भवानी हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्थाको नवौं वार्षिक साधारण सभामा “चिरञ्जीवी ईश्वरादेवी उप्रेती अक्षयकोष”को तर्फबाट बर्ष उत्कृष्ट पत्रकारको रुपमा निरौला सम्मानित भएका हुन् ।

संस्थाका अध्यक्ष भरतकुमार थपलियाको अध्यक्षता तथा संघीय खानेपानी तथा ढल व्यवस्थापन विराटनगर आयोजना प्रमुख सुरतलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पत्रकार निरौलालाई नगद पुरस्कार, दोसल्ला र सम्मान पत्र प्रदान गरिएको हो ।

पत्रकार निरौलालाई चिरञ्जीवी ईश्वरादेवी उप्रेती अक्षयकोषका संरक्षक चिरञ्जीवी उप्रेती, कोषका अध्यक्ष एकराज उप्रेती, प्रमुख अतिथि चौधरी, कनकाई नगरपालिकाका उपप्रमुख आशा शिवाकोटी लगायतले सम्मान अर्पण गरेका हुन् ।

कलमलाई केवल पेशा मात्र नभई समाज परिवर्तनको प्रभावकारी माध्यम बनाउँदै करिब दुई दशकदेखि पत्रकारितामा निरन्तर समर्पित पत्रकार निरौला २०६५ सालदेखि जनसंसद दैनिकबाट पत्रकारितामा प्रवेश गरेका हुन् ।

उनले कञ्चनजंघा एफएम, सूर्योदय टेलिभिजन तथा राष्ट्रिय समाचार समिति लगायत विभिन्न सञ्चार माध्यममा निष्पक्ष र जिम्मेवार पत्रकारिताको अभ्यास गर्दै आएका छन् ।

सम्मानित भए पछि मन्तव्य राख्दै पत्रकार निरौलाले आफूलाई प्रदान गरिएको सम्मानले जीवनकै अत्यन्तै भावुक र गौरवपूर्ण क्षण बनाएको बताउँदै इमान्दार, मर्यादित र उत्तरदायी पत्रकारिताको मूल्यलाई आत्मसात गर्दै समाजको सत्य आवाज उजागर गर्न थप जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित खबर