२०८२ माघ १५ बिहिवार , ०६:५२:५१ बजे

Sajhamanch
'

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

बिहिवार, माघ १५, २०८२

सुर्खेत । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ ।

नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण कार्य सम्पन्न भएको हो ।

निर्माण सम्पन्न भएको प्रसारण लाइन तत्कालै राष्ट्रिय प्रणालीमा समाहित गरिने कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक प्रमुख शशीभूषण शाहले जानकारी दिनुभयो ।

यो प्रसारण लाइन राष्ट्रिय प्रणालीमा समाहित गर्नका लागि बाँकेको कोहलपुर सबस्टेशनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सबस्टेशनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट १३२ केभी क्षमताको विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार बाँके, बर्दिया र सुर्खेत रुटमा परीक्षणपछि प्रसारण लाइन सञ्चालनमा आउनेछ ।

प्राधिकरणले प्रसारण लाइनका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतराका सङ्केत देखाइएका विद्युत् संरचनालाई नछुन र बालबालिकालाई टावर नछुन तथा नजिक जान नदिन सचेत गर्न अनुरोध गरेको छ । साथै परीक्षणका क्रममा कुनै ठाउँमा भिल्का आएमा वा खतरा देखिएमा प्राधिकरण वा नजिकैको प्रहरीमा जानकारी दिन भनिएको छ ।

सम्बन्धित खबर