२०८२ माघ ११ आइतवार , ०८:३१:५९ बजे

Sajhamanch
'

रैथाने पानी जलेवा सङ्कटमा :कोशी बगरमा मृत भेटिए

आइतवार, माघ ११, २०८२

विराटनगर । पानी काग अर्थात् पानी जलेवा नामले चिनिने कोशी नदी किनारको रैथाने पन्छी सानो जलेवा विषादीका कारण सङ्कटमा परेको छ ।

तीन देखी ४०० को सङ्ख्यामा उड्दै कोशी नदीका आकाशमा कावा खाँदै गरेको देखिने यो रैथाने पन्छी पछिल्लो समय देखिन छाडेको छ ।

हिउँदे पन्छीको गणनाका क्रममा समेत सानो जलेवाको सङ्ख्या कम देखिएको कोशी पन्छी समाजका अध्यक्ष चक्र तिम्सिनाले बताउनु भयो ।

कुशल माछा सिकारीका रूपमा चिनिएको सानो जलेवा स्थानीय पर्यावरण सन्तुलनका दृष्टिले महत्त्वपूर्ण मानिने विज्ञ बताउँछन् ।

आइतबार सुनसरीको वराहक्षेत्र ६ स्थित ठाकुरबारी क्षेत्रमा तीन वटा पानी सानो जलेवा मृत फेला परेका छन् ।

स्थानीयले उद्धारको प्रयास गरे पनि दुई वटा मृत अवस्थामा फेला परेका छन् भने एउटा अस्वस्थ अवस्थामा छ । स्थानीय उद्धारकर्ताले चरामा विष परेको हुनसक्ने अनुमान गरेका छन् ।

कोशी किनार चरा अवलोकनका दृष्टिले आकर्षक गन्तव्य मानिन्छ । नदीमा विषादीको प्रयोग नियन्त्रण नहुँदा जलपन्छीहरू सङ्कटमा पर्दै आएका छन् । चराविज्ञ तिम्सिनाका अनुसार विषादीयुक्त माछाको सिकारका कारण जलेवाको मरेको हुन सक्छ ।

स्थानीयले माछा मार्न लुकीचोरी विष प्रयोग गर्नाले जलपन्छी सङ्कटमा पर्दै आएको तथ्य छ । सरोकारवालाहरूले विषादी नियन्त्रणमा जनचेतना फैलाउने गरे पनि नियामक निकायले नियमन र नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्दा जलपन्छीको सङ्ख्या घट्दै गएको छ ।

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको ऐन, २०८१ को दफा १४, उपदफा ८ मा विक्री वितरण, भण्डारण वा प्रयोग गर्न, गराउन नहुने उल्लेख गरेको छ ।

सोही ऐनको दफा १८ उपदफा घ, ञ मा त्यस्तो कार्य गरे कसुर गरेको मानिने उल्लेख छ । ऐनको दफा १९ मा जरिवाना गर्न सक्ने प्रावधान उल्लेख छ ।

दफा २१ को २९१० ले क्षतिपूर्तिका लागि जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष तोकेको छ ।

जलचर संरक्षण ऐन,२०१७ को दफा ३ ले जलचर समात्ने र मार्ने तरिकामा प्रतिबन्ध गरेको छ । ऐनको दफा ८ ले दण्ड, जरिवाना र कैदको व्यवस्था गरेको छ ।

सम्बन्धित खबर