२०८२ माघ ९ शुक्रवार , ०६:५०:३१ बजे

Sajhamanch
'

हरेक मतदातासँग सम्पर्क बढाउन एमाले कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

शुक्रवार, माघ ९, २०८२

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेताहरूलाई जनताका घरघरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिनु भएको छ ।

शुक्रबार झापा क्षेत्र नम्बर–५ को क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सम्पूर्ण पार्टी पंक्तिलाई जनताको घरघरमा पुग्न र मतदातालाई एमालेलाई मत दिने वातावरण बनाउन निर्देशन दिनु भएको हो ।

अध्यक्ष ओलीले एमालेको नेतृत्वमा भएका विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त भएको समेत बताउनु भएको छ । केन्द्रीय सदस्य,प्रदेश सदस्य,जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहरू सहभागी सो बैठकमा योजना बनाएर प्रचारका काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न तथा दृढताका साथ निर्वाचन प्रचारमा लाग्न निर्देशन दिनु भएको हो ।

‘यस क्षेत्रमा म पहिलो पटक निर्वाचन लड्न आउँदाको स्थिति के थियो ? अहिले कस्तो छ ?’ त्यति बेला धुलाम्मे सडक मात्र थिए । पिच हेर्न राजमार्ग जानुपर्थ्यो’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले गाउँ टोलसम्म नै पिच सडक पुगेको तपाईंहरुले देख्नुभएको छ । यो एमालेको नेतृत्वले गरेको हो । जनताले यो कुरा बुझेका छन् । तर एक पटक स्मरण गराउनु पर्दछ ।’

अध्यक्ष ओलीले देशलाई नै सखाप पार्ने उद्देश्यले भदौ २३ र २४ गतेको घटना गराइएको दाबी समेत गर्नु भएको छ । नवयुवाहरूले सुरु गरेको आन्दोलन र उठाएका मागहरू नाजायज नभए पनि त्यसपछिको घुसपैठले देश नै तहसनहस भएको उहाँको भनाइ छ ।

‘ती घटनाहरू देखाएर एमालेलाई दोषी करार गर्न खोजिँदै छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘यस्ता आधारहीन कुराको प्रतिवाद गर्नुपर्दछ । यसका लागि सम्पूर्ण पार्टी पंक्तिलाई जनताका घर घरमा पुर्याऔं । हरेक मतदातासँग सम्पर्क बढाऔँ ।’

सम्बन्धित खबर