२०८२ माघ ९ शुक्रवार , ०६:१९:२३ बजे

Sajhamanch
'

झापामा चुनावी सरगर्मी : महिला उम्मेदवार १५ जना

शुक्रवार, माघ ९, २०८२

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि झापामा राजनीतिक चहलपहल निकै बढेको छ।

जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्म कुल ८१ जनाले आफ्नो मनोनयन दर्ता गराएका छन्। जसमा महिला उम्मेदवार बन्नेहरूको संख्या १५ रहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार कुल उम्मेदवारको तुलनामा महिलाको सहभागिता करिब १७ प्रतिशत मात्र देखिएको छ। १५ महिला उम्मेदवारमध्ये १३ जना विभिन्न राजनीतिक दलका तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् भने दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

झापाका पाँच क्षेत्रमध्ये क्षेत्र नं. २ मा महिला उम्मेदवारको संख्या सबैभन्दा धेरै देखिएको छ। यस क्षेत्रमा प्रमुख दलहरूले महिलालाई नै चुनावी मैदानमा उतारेका छन् ।

यस क्षेत्रमा महिला उम्मेदवारको संख्या मात्र बढी छैन, यहाँ प्रमुख दलहरूबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसकी प्रभावशाली नेत्री सरिता प्रसाईं र नेकपाकी धर्मशीला चापागाईं यसै क्षेत्रबाट चुनावी मैदानमा उत्रिनुभएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पुर्वउपसभामुख इन्दिरा रानामगरले उम्मेदवारी दर्ता गराउँदा नेपाल मजदुर किसान पार्टीबाट चन्द्रकुमारी गारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावतीले पनि आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ ।

यस क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट पूर्वसभामुख देवराज घिमिरेसहिल १८ जनाले मनोनयन दर्ता गराउनुभएको छ, जसले यहाँको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

जिल्लाका अन्य चार निर्वाचन क्षेत्रमा पनि महिलाहरूको उपस्थिति अर्थपूर्ण देखिएको छ । झापा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी र जनता समाजवादी पार्टी (जसपा) की रमा मेचेबीच प्रतिस्पर्धा हुँदैछ।

झापा क्षेत्र नं. ३ मा तीन जना महिला उम्मेदवार मैदानमा उत्रिनुभएको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला सावा, नेमकिपाकी धर्मलक्ष्मी दुवाल र जसपाकी विनिताकुमारी राजवंशीले उम्मेदवारी दर्ता गराउनुभएको छ।

त्यस्तै झापा क्षेत्र नं. ४ मा दुई जना महिला चुनावी दौडमा हुनुहुन्छ । जसमा श्रम संस्कृति पार्टीकी अमृतादेवी राई र नेमकिपाकी तुलसी लक्ष्मी दुमरु रहनुभएको छ।

झापा क्षेत्र नं. ५ मा नेपाली कांग्रेसबाट मन्धरा चिमिरियाले सशक्त उम्मेदवारी दिनुभएको छ। यस्तै, रञ्जिता गौतम र शोभा भण्डारीले स्वतन्त्र रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएर चुनावी मैदानलाई त्रिपक्षीय बनाउने प्रयास गर्नुभएको छ ।

जिल्लाका पाँचवटै क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. ५ सबैको आकर्षणको केन्द्र बनेको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र भएकाले यहाँको प्रतिस्पर्धा सधैँ चर्चामा रहने गर्छ।

यसपटकको निर्वाचनमा यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका पुर्वमेयर बालेन शाहको उम्मेदवारीले पनि उत्तिकै चर्चा पाएको छ।

मनोनयन दर्तासँगै झापाका गाउँदेखि सहरसम्म चुनावी रौनक छाएको छ। प्रतिनिधिसभाको यो निर्वाचनमा पुरुषको तुलनामा महिलाको संख्या निकै कम देखिए तापनि विशेषगरी क्षेत्र नं. २ को प्रतिस्पर्धाले देशभरकै ध्यान खिचेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८१ जना उम्मेदवारमध्ये १५ जना महिला हुनुले राजनीतिमा महिलाको सक्रियता बढ्दै गएको सङ्केत गरे पनि कुल संख्याको तुलनामा यो अझै न्यून रहेको सरोकारवालाहरू बताउँछन्।

राजनीतिक विश्लेषकहरूका अनुसार उम्मेदवारको सङ्ख्या धेरै भए पनि मुख्य प्रतिस्पर्धा भने ठूला दलहरूबीच नै केन्द्रित हुने अनुमान छ। यद्यपि, झापाका विभिन्न क्षेत्रमा महिला उम्मेदवारको अर्थपूर्ण उपस्थितिले लैङ्गिक प्रतिनिधित्व, समावेशिता र नीतिगत बहसलाई यसपटक चुनावी एजेन्डाको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा झापामा चुनावी प्रचार–प्रसारले तीव्रता पाएको छ। राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो अभियान र चुनावी सभामा केन्द्रित भएका छन्।

उता मतदाताहरू भने उम्मेदवारको विगतको ट्र्याक रेकर्ड, चुनावी एजेन्डा र विकासका प्रतिबद्धतालाई सुक्ष्म रूपमा नियाल्दै आफ्नो अमूल्य मत दिने तयारीमा जुटेका छन्।

नयाँ पेपरमा सुनिरा मैनालीको रिपोर्ट

सम्बन्धित खबर