
काठमाडौं । भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल सरकारले उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण हवाई तथा स्थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरू गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी भइरहेको छ । निपाह भाइरस चमेरो, सुँगुर वा सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखि रोकथामका उपाय अपनाइएको उहाँले बताउनुभयो ।
मन्त्रालयले सङ्क्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वरेण्टीनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान सबैमा अपील गरेको छ ।
निपाह घातक जुनोटिक भाइरस हो जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ । यो मुख्यतः फलफूल खाने चमेरोबाट मानिसमा सर्छ ।
नेपालमा अहिलेसम्म निपाहको कुनै सङ्क्रमण पुष्टि भएको छैन । तर भारतको पश्चिम बङ्गालसँगको खुला सीमा र फ्रुट ब्याटको उपस्थितिले जोखिम बढाएको छ ।
इपिडेमियोलजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी र अचानक मृत्युका घटना रिपोर्ट गर्न निर्देशन दिएको छ ।
सङ्क्रमण भएमा शुरूमा ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुन्छ । पछि मस्तिष्क सुन्निने समस्याले ज्यान जान सक्छ । रोकथामका लागि काँचो खजुरको रस नपिउन, चमेरोले टोकेका फलफूल नखान, सङ्क्रमितसँग सम्पर्क भएमा तुरुन्तै स्वास्थ्य जाँच गराउन र हात धुने, मास्क लगाउनेजस्ता सामान्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


