२०८२ माघ ८ बिहिवार , ०७:१५:५३ बजे

Sajhamanch
'

फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याइन्छ : निर्वाचन आयोग

बिहिवार, माघ ८, २०८२

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु हुने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्‍याइसक्ने बताउनु भयो ।

त्यस्तै, समानुपातिकतर्फ डेढ करोड मतपत्र छपाई भइसकेको र बाँकी ५० लाख मतपत्र छपाई कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धित जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको बताउनु भयो ।

बाँकी रहेका १४ वटा सामाग्रीहरू माघ महिनाको तेस्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड खण्ड बनाएर ढुवानी गरिने उहाँको भनाइ छ । उहाँले गलत सूचना नियमन गर्न निरन्तर आयोगले काम गरिरहेको र नियमनकारी निकायसँग सहकार्य गरेर कारबाहीको दायरा ल्याउने काम भएको उल्लेख गर्नुभयो ।

निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशन गरेपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसैदिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ गरी तीन हजार ४८७ को उम्मेदवारी दर्ता भएको छ ।

सम्बन्धित खबर