
झापा । इन्डोनेशियाको सुलावेसी प्रान्तमा रहेको मुना टापुमा पत्ता लागेको हातको छाप झन्डै ६७ हजार ८०० वर्ष पुरानो हुनसक्ने पुरातत्त्वविद्हरूले बताएका छन् ।
विश्वमा अहिलेसम्म पहिचान भएका ‘पेन्टिङ’ मध्ये यो सबैभन्दा पुरानो चित्रकला हुनसक्ने पुरातत्त्वविद्हरूलाई उद्धृत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ ।
चुनढुङ्गाको गुफामा फेला परेका यी खैरो रङ्गका चित्रहरू हात राखेर त्यसको वरिपरि रङ्ग फुकेर बनाइएका हुन् । हिजो नेचर जर्नलमा प्रकाशित यस अनुसन्धानमा अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयका पुरातत्त्व वैज्ञानिक म्याक्सिम ओबेर्टले नेतृत्व गर्नुभएको थियो ।
इन्डोनेशियाको रिसर्च एन्ड इनोभेशन एजेन्सीका पुरातत्त्वविद् अधी अगुस ओख्ताभियानाले गुफाको भित्तामा हातका छापहरू फेला पार्नुभएको हो । चित्रकलाको न्यूनतम उमेर निर्धारण गर्न अनुसन्धानकर्ताहरूले रङ्गमाथि समयक्रममा बनेका खनिज तहमा रहेको युरेनियम र थोरियम तत्त्वको विश्लेषण गरेका थिए ।
इन्डोनेशिया र वरपरका क्षेत्रहरू संसारका केही प्राचीनतम पुरातात्त्विक खोजहरूका लागि चिनिन्छन् ।
अस्ट्रेलियामा रहेका आदिवासी समुदायको संस्कृतिलाई विश्वको सबैभन्दा पुरानो जीवन्त संस्कृति मानिन्छ । त्यहाँ झन्डै ६० हजार वर्षभन्दा पुरानो परम्परा कायम रहेको पुरातात्त्विक प्रमाणहरूले देखाउँछन् । अस्ट्रेलियाको मुरुजुगा क्षेत्रमा ढुङ्गामा कुँदिएको ५० हजार वर्ष पुरानो चित्रलाई भर्खरै युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।


